सूचनाको शक्ति - The Power Of Information

        

निर्भया काण्डका दोषीलाई फासीअघि परिवारसँग भेट्न अनुमति

एजेन्सी । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् ।

टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् ‘फासीको मिति तय भएपछि अब उनीहरुलाई पालैपालो परिपवारका सदस्यसँग भेट्न अनुमति दिइने छ ।’

घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो । कारगारका अधिकारीका अनुसार फासीभन्दा पहिले त्यो पैसाको पनि हिसाब हुनेछ जो उनीहरुले जेलमा रहेर कमाएका थिए । उक्त रकम परिवारका सदस्यहरुलाई दिइने छ ।

अक्षय सिंहले जेलमा रहेका बेला काम गरेर ६९ हजार, विनय शर्माले ३९ हजार र पवन गुप्ताले २९ हजार रुपैयाँ कमाएका छन् । मुकेश कुमारले जेलमा काम गर्न इन्कार गरेका थिए । अदालतले विनय शर्मा र मुकेश कुमारको क्यूरिटिव पिटिशन खारेज गरिसकेको छ । तिहाड जेलका एक वरिष्ठ अधिकारीले भने, ‘क्यूरिटिव पिटिशन खारेज भएपछि विनयका बुवा उनलाई भेट्न आएका थिए र बुवासँग कुराकानीका क्रममा विनय पटक पटक रोएका थिए ।’

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार दोषीलाई डेथ वारेन्ट जारी भइसकेको छ । पटियाला हाउस अदालतले फासीका लागि २२ जनवरी २०२० बिहान सात बजेको समय तय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार १२:०६