सूचनाको शक्ति - The Power Of Information

        

फेरिँदै ‘नेपालगन्ज विमानस्थल’

बाँके । गुरुयोजना अनुसार नेपालगन्ज विमानस्थलको निर्माण कार्य तिव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान सुरु भएको चार दशकपछि गुरुयोजना अन्तरगत सुधारको काम भइरहेको हो । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई २०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो ।

जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम भने सुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगन्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगन्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारलाई लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्तिबेलासम्म अहिलेको विमानस्थलको आकार झन्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

ठूला जेट विमान उडान सक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु.१२ अर्ब ५० करोड लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए । उनले योजना अनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झन्डै दुई अर्बको बजेट छ ।

यो चरणको काम सुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रो चरणका लागि सबैभन्दा बढी बजेट साढे रु.६ अर्बको बजेट छ । त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ । चौथो चरणमा पौने दुई अर्बमा लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगन्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगन्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ ।

‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, ‘पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् ।’ ठाकुरका अनुसार रनवे बिस्तार, टर्मिनल भवन लगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुनेछ । डिपिआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप रू.२ अर्ब ८ करोड लगानीमा विमानस्थल बिस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ ।

अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडानहरु बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ । डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरि तेस्रो र चौथो चरणको काम भने झण्डै २० बर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिनेछ ।

जसमा रु.७ अर्ब ४० करोड खर्च हुने अनुमान छ । नयाँ योजना अनुसार, नेपालगन्ज विमानस्थलको रनवे ३ सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा २ हजार ४४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा हाल एटिआर बिमान उडान गर्न मिल्ने उक्त बिमानस्थलमा मास्टरप्लान अनुसार काम भए आगामी दुई दशकभित्र एयरबसजस्ता ठुला जेट बिमान पनि सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।

हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा ९ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगन्जकोे सबैभन्दा धेरै उडान काठमाडौं हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यति लगायतका विमानहरुले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुम लगायतका जिल्लामा उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०९:४३