सूचनाको शक्ति - The Power Of Information

        

चीनतर्फ सशस्त्र प्रहरीको पहिलो ‘बीओपी’

काठमाडौं । सरकारले चीनसँगको सिमानामा पहिलो बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गरेको छ । उत्तर र दक्षिणतर्फको सीमा सुरक्षा बलियो बनाउन सरकारले चीनतर्फ चार तथा भारततर्फ ११० गरी सशस्त्र प्रहरीका नयाँ ११४ बीओपी राख्ने निर्णय गरेको थियो ।

चीनसँगको सीमा क्षेत्र दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको कोराला र संखुवासभाको किमाथांकामा रहने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकामा मंगलवार पहिलोपटक संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथांकामा बीओपी स्थापना गरिएको हो । यसअघि भारततर्फ मात्रै १०७ बीओपी तैनाथ थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यसअघि उत्तरी नाकामा गुल्मबाट सुरक्षाकर्मी खटाइँदै आएकामा मंगलबार पहिलोपटक स्थायी बीओपी स्थापना गरिएको बताए । ‘पहिले उत्तरी नाकामा गुल्मबाट टोली खटाइँदै आइएको थियो, मंगलबार चीनतर्फ पहिलो स्थायी बीओपी स्थापना गरिएको छ । अन्य तीन नाकामा चैतभित्रै स्थायी बीओपी तैनाथ हुन्छ,’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने ।

सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बीओपी उद्घाटन गरेका हुन् । संखुवासभा सदरमुकाम खाँदबारीबाट ११० किलोमिटरको दूरीमा रहेको सो बीओपीका लागि सोमबार पूर्वी क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्रको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका पुर्याइएको थियो ।

योसँगै सशस्त्र प्रहरीको बीओपी संख्या १०८ पुगेको छ । सरकारबाट निर्णय भएबमोजिम सशस्त्र प्रहरीको बीओपी स्थापना भए उत्तर र दक्षिणतर्फ गरी २२१ पुग्नेछ । यसअघि उत्तरी नाकामा स्थायी बीओपी नराखिए पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोराला नाकाको सुरक्षामा जिल्लाबाटै सशस्त्र प्रहरी खटाइँदै आइएको थियो ।

सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर थप बीओपीमा खटाउने तयारी भइरहेको छ । थप भएका नयाँ बीओपी स्थापनाका लागि भौतिक संरचनाको समेत अभाव रहँदै आएको छ ।

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी छन् । प्रत्येक बीओपीमा ३५ जना छन् । सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी हाल १८ देखि २० किलोमिटरमा छ । नयाँ बीओपी स्थापना हुँदा हाल कायम रहेको एक बीओपीबाट अर्कोको दूरी आधा कम हुनेछ । नेपालको भारतसँग करिब १ हजार ८८० र चीनसँग १ हजार ४१४ किलोमिटर सीमा जोडिएको छ ।

हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११७ रहेकामा मुख्यालयसहित ८ वटा बाहिनी, ५ स्थायी र ६ प्रस्तावित गरी ११ शिक्षालय, ३६ गण, ५६ गुल्म र १०७ बीओपी तैनाथ छन् । थप भएका बीओपीका लागि मात्रै झन्डै ४ हजार जनशक्ति आवश्यक पर्ने सशस्त्र प्रहरी मुख्यालयले बताउँदै आएको छ । सीमा सुरक्षा, राजस्व, औद्योगिक र भन्सार लगायत करिब १७ हजार फौज तैनाथ छन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०९:१६