सूचनाको शक्ति - The Power Of Information

        

देशभरका थारु समुदायले हर्षोल्लासका साथ मनाउँदै माघी पर्व

बाँके । थारु समुदायकाले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् ।

यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने पत्रकार लक्की चौधरी बताउँछन् । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् ।

सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ । विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।

थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०८:३८