सूचनाको शक्ति - The Power Of Information

        

देशभर बढ्दै सडक दुर्घटना, सवारी जाँच गर्ने मेसिनमा खिया

काठमाडौं । नेपालमा हुने हरेक सवारी दुर्घटनामा धेरैले ड्राइभरतिरै औँलो सोझ्याइहाल्छन् । तर सडक र गाडीको अवस्था कस्तो छ भन्नेतिर कसैले ध्यान दिँदैनन् । सवारीसाधन व्यवसायीलाई पैसा कमाउनतिर र सरकारलाई कर उठाउनतिर मात्रै ध्यान हुँदा देशमा सडक दुर्घटनामा कमी आउन सकेको छैन ।

करिब दश वर्षअघि नेपालमा दुर्घटना न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायातको वैज्ञानिक तरिकाबाट चेकजाँच गर्ने भनी ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ स्थापना भयो । अटो व्यवसायीहरुकै मागअनुसार सवारीसाधनको अवस्था परीक्षण गर्न सेन्टर स्थापना भए पनि त्यसलाई राम्ररी सञ्चालनमा ल्याउन न सरकार अग्रसर भयो, न त व्यवसायीले नै चासो दिए ।

नाडामा समेत बसेर काम गरिसकेका वर्कशपसम्बन्धी मेसिनरी आयात गर्ने व्यवसायी प्रदिपमान प्रधानका अनुसार नेपालमा अत्याधुनिक प्रविधियुक्त सवारीजाँच मेसिन आवश्यक भएको भन्दै बारम्बार यातायात व्यवस्था विभागमा धाउँथे । प्रधानसँगै नाडा, यातायात व्यवसायी महासंघ, यातायात व्यवस्था विभागले फिटनेस सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदिपमान प्रधानको सोच थियो, नेपालमा एउटा राम्रो सवारीजाँच गर्ने प्रविधि भित्र्याउने । त्यसको लागि उनले धेरै ठाउँमा बुझे । जर्मनीको प्रविधि नेपाल ल्याउनसके उपयुक्त हुने उनलाई विश्वास लाग्यो । उनी भन्छन्, ‘हामीले ल्याउन सोचेको मेसिनमा सवारीधनी र इन्जिनियरको भूमिका खासै नहुने । सबै कुरा मेसिनले नै परीक्षण गरेर रिपोर्ट कम्प्युटरमा देखाउने थियो ।’

सवारी जाँचमा चलखेल हुन नदिन सबै परीक्षण मेसिनले गर्ने र रिपोर्ट कम्प्युटरले दिने ल्याउनुपर्छ भन्ने योजना प्रधानले विभागमा समेत सुनाएका थिए । तर यातायात व्यवस्था विभागले ‘मेसिन’को लागि टेन्डर गर्दा सिभिल र मेकानिक इन्जिनियरिङमा अनुभव भएकोले मात्रै प्रस्ताव पेस गर्न पाउने बनायो । प्रधानको योजना टेन्डरको प्रस्तावले नै तुहियो । उनी वर्कशपसम्बन्धी मेसिन आयात गरी बिक्री गर्थे तर सिभिल वा मेकानिकल इन्जिनियरिङको विषयमा अनुभव थिएन । उनले टेन्डर हाल्न पाएनन् ।

विभागले मेसिन खरिदको लागि उनले सोचेको बजेट पनि छुट्याएन । सार्वजनिक खरिद नियमावलीअनुसार टेन्डर हाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले पायो । उनले चीनबाट करिब आठ वर्षअघि मेसिन ल्याए । यातायात व्यवस्था विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय टेकुमा मेसिन जडान भयो । तर उनले जडान गरेको करिब पाँच वर्षसम्म विभागले दक्ष जनशक्ति नभएको भन्दै सेन्टरलाई सञ्चालनमा ल्याउन सकेन ।

दक्ष जनशक्ति तयार भएपछि विभागले फिटनेस सेन्टर सञ्चालनमा ल्याउन खोज्दा मेसिन नै चलेन । विभागले महादेव खिम्ती निर्माण सेवाले चिनियाँ ‘गुणस्तरहीन’ मेसिन ल्याएकोले चलाउन नसकेको बताउँदै आएको छ । सवारी परीक्षण कार्यालय टेकुका प्रमुख रामचन्द्र पौडेल महादेव खिम्ती निर्माण सेवाले कम गुणस्तरको मेसिन ल्याएकोले कार्यालयले मेसिन सञ्चालनमा ल्याउन नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘त्यसको मर्मतको लागि उहाँले ल्याएको ठाउँबाट प्राविधिक र सामग्री ल्याउन खोजेका थियौँ तर चीनमा कम्पनी हाम्रो सम्पर्कमै आएन । बन्द भइसकेको भन्ने जानकारी आयो ।’ विभागको मापदण्डअनुसार हरेक ६ महिनामा सार्वजनिक यातायातका साधनको जाँचपड्ताल गर्नुपर्छ । जाँच त हुन्छ तर मेसिनले हुँदैन । इन्जिनियरहरुले हेरेजस्तो मात्रै गर्छन् ।

तर महादेव खिम्ती निर्माण सेवाका सञ्चालक रवि सिंहले आफूले मेसिन ल्याएर जडान गर्दा चलेको दाबी गर्छन् । ‘विभागले जस्तो स्पेसिफिकेसनमा टेन्डर निकालेको थियो । त्यसैअनुसार हामीले सामग्री आयात गरी विभागमा जडान गरेका हौं’, उनले भने, ‘उहाँहरुसँग प्रविधिक नभएको कारण त्यसलाई प्रयोग नगरी राख्नुभयो ।

जसले गर्दा धूलो धूवाँ लगायतको कारणले नचलेको होला । हामीले ८ वर्षअघि नै मेसिन हस्तान्तण गरेका हौं ।’ मेसिन नचल्नुमा आफ्नो दोष नभएको सिंहको दाबी छ । ‘प्रविधि नयाँ–नयाँ आउँदै गर्छ । पुरानो विस्थापित हुँदै गर्छ । पुरानो मोडलको सामग्री त पाइँदैन नि! उहाँहरुले चलाएर अपग्रेड गर्दै जानुपर्ने थियो, त्यसलाई त्यत्तिकै फालियो, त्यसैले चलेन होला ।’

सवारी जाँच कहाँ गर्ने ‘आरन’मा ?

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले इन्जिनियरहरुले अन्दाजको भरमा चेक गर्ने गरेको बताए । ‘डाक्टरले बिरामीको मुख हेरेर यो रोग लागेको होला भनेजस्तै हो नेपालमा सवारी चेक जाँच । वैज्ञानिक ढङ्गले कहीँ कतै चेक हुँदैन ।’ उनले अटो व्यवसायीसँग चर्को कर उठाउने तर चेकजाँचको लागि एउटा मेसिन पनि राख्न नसक्ने भन्दै आक्रोश पोखे ।

‘सरकारले पूर्वाधार बनाउँदैन अनि व्यवसायीलाई यो भएन, त्यो भएन भन्छ । दुर्घटना कम गर, राम्ररी चलाऊ भन्छ । जाँचपास कहाँ गर्ने आरनमा लगेर गर्ने ?’, उनले प्रश्न गरे । सवारी परीक्षण कार्यालय टेकुका प्रमुख पौडेल भने मेसिनले सबै कुरा परीक्षण नगर्ने बताउँछन् । मेसिनले ह्विल लोड–टेस्टर, ब्रेक–टेस्टर, हेडलाइट–टेस्टर, सस्पेन्सन–टेस्टर, हर्न–टेस्टरलगायत छ प्रकारका मात्रै परीक्षण गर्छ । अरु सबै इन्जिनियरले निरीक्षण गर्छ ।

उनले आँखाले निरीक्षण गरेरै धेरै कुरा पत्ता लगाउन सकिने दाबी गरे । उनले भने, ‘केहीले आँखाले निरीक्षण गरेर हुँदैन भनेका छन् । गाडीमा खिया लागेको छ कि छैन, ढोका राम्ररी लाग्छ कि लाग्दैन, सिसाको अवस्था कस्तो छ भन्ने निरीक्षणबाटै थाहा हुन्छ । यहाँ जडान र सञ्चालनमा आए पनि सबै रिपोर्ट कम्प्युटरमा देखिँदैन । इन्जिनियरले नै निरीक्षण गर्नुपर्छ ।’

पौडेलले कार्यालयमा मेसिन सञ्चालनको लागि चीनका प्राविधिक र आवश्यक सामग्री खोजिरहेको बताए । विभागले उक्त मेसिन ६ करोडमा खरिद गरेको हो । हाल टेकु कार्यालयमा दैनिक ५० देखि ६० गाडी जाँच इन्जिनियरहरुले अनुमानको भरमा गरिरहेका छन् ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०९:२५