सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा छाउगोठ भत्काइँदै

बझाङ । बझाङ जिल्लामा पनि जिल्लाभरका छाउगोठको तथ्याङ्क संकलन गर्न र छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । जयपृथ्वी नगरपालिकाको धार्मीलेखबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानमा प्रमुख जिल्ला अधिकारीे, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, महिला लगायतको सहभागिता रहेको थियो भने धामी लेकमा ११ ओटा छाउगोठ भत्काइएका थिए ।

अघिल्लो साता प्रहरी प्रशासनको टोलीले जयपृथ्वी नगरपालिका–९ सेलाखेतमा गएर छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसलगत्तै चलाएको सचेतना अभियानपछि सातवटा छाउगोठ भत्काएको जयपृथ्वी नगरपालिका–९ का वडाध्यक्ष नवराज कोइरालालले बताए । गाउँमा छाउगोठहरू थिए, हामीले भन्दा गाउँलेले भत्काउन मानेका थिएनन् प्रशासनको टोली पुगेपछि सबैले आ–आफ्ना छाउगोठ भत्काउन थालेका वडाध्यक्ष कोइरालाले बताए ।

गाउँलेलाई शुरुमा भेला गराई छाउपडी प्रथा त्याग्न र सामाजिक कुरीति हटाउन सचेतना दिएको र एउटा छाउगोठ प्रहरीले भत्काएपछि अन्य गोठहरू विद्यार्थी तथा किशोरीको सहभागितामा भत्काईएको र सबै गरि ३६ छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । धार्मीलेखमा केही बूढापाकाले अवरोध पु¥याएपछि प्रहरीसँग छोरी बुहारी र विद्यार्थीले छाउगोठ भत्काउन साथ दिएका थिए । उनीहरुले छाउगोठ भत्काउनुपर्छ भन्दै नारासमेत लगाएका थिए ।

जयपृथ्वी नगरपालीकाको सेलाखेत, धामीलेकबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानसँगै सबै पालिकामा रहेका छाउगोठको तथ्याङ्क लिने काम सम्पन्न गरेको र अब धमाधम जिल्लाभरका छाउगोठ भत्काइने प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए । उनका अनुसार जिल्लाको सबै पालिका गरी तीन सयभन्दा बढी छाउगोठ रहेको समेत बमले बताए ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०८:५१