बाँके । बाँकेमा थप एउटा विओपी (वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । योसँगै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर ११४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि पाँच वटा विओपी थप्न लागिएको हो । जसअनुसार शुक्रबार आज एउटा विओपी थप गरिएको हो ।
यसै क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेलले जयसपुर विओपीको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक पौडेलले नयाँ थपिने विओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए । उनले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिए । पौडेलले सीमा तस्करीका लुप होल पत्ता लगाई अवैध निकासी रोक्न प्रभावकारी ढंगले लाग्न निर्देशन पनि दिए ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जयसपुर विओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले भन्सार कार्यालय नेपालगन्जको जग्गामा विओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । कार्यक्रममा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर ओली लगायत उपस्थित थिए ।
सत्यपाटी ।