सूचनाको शक्ति - The Power Of Information

        

व्यवसायीक हकहित र बाँकेको आर्थिक विकास एजेण्डा : चुन्ना

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले समावेशी प्यानलले उद्योगी, व्यवसायीको हकहित र बाँकेको आर्थिक विकासको मार्गचित्र कोर्ने गरी घोषणापत्र जारी गर्ने बताएका छन् । समावेशी प्यानलले उद्योगी, व्यवसायीसंग घरघरमा पुगेर घोषणापत्रमा समेट्ने विषय ‘टिपोट’ गरेको छ ।

केही दिनमै घोषणापत्र जारी गर्न लागिएको निर्वाचन परिचालन समितिका संयोजक ईश्वर पोख्रेलले जानकारी दिए । ‘उद्योगी, व्यवसायीले भोग्नुपरेका समस्या र समाधानका बिषयलाई घोषणापत्रमै समेट्छौं,’ अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने, ‘निजीक्षेत्रका तर्फबाट बाँकेको आर्थिक विकासमा के कस्ता अग्रसरता लिन सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकताका साथ समेट्छौं ।’

निर्वाचन परिचालन समितिका संयोजक पोख्रेलले घोषणापत्रमा समेटिएका मुद्दा कार्र्यान्वयन हुनेमा मतदातालाई बिश्वास दिलाइने बताए । ‘हामीले गर्न सक्ने यस्ता मुद्दा घोषणापत्रमा समेट्दै छौ जसले बाँके जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ पोख्रेलले भने । उनले त्यस्ता मुद्दा के हुन भन्ने कुरा घोषणापत्र सार्वजनिक हुने दिन मात्रै थाहा हुने बताए ।

उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, वाणिज्यतर्फ उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उद्योगतर्फ उपाध्यक्ष आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भीम रानाभाट रहेका छन् ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १३:५९