सूचनाको शक्ति - The Power Of Information

        

माघीमय बन्दै थारु बस्ती

बाँके । थारुहरुको सबैभन्दा ठुलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारु बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त छन् । नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ ।

थारु समुदायको माघी पर्व आउन केही दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारु बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् । पुरुषहरु माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।

माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु युवतीलाई भ्याइनभ्याई भएको छ । माघी थारु समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका हरिप्रसाद थारुले बताए । माघीमा आफन्त आउने भएको हुनाले उनीहरुको सत्कारका लागि तयारी सुरु गरेको उनले बताए ।

‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौं,’ चिसापानीकै फुलमती चौधरीले भनिन् । एक महिना अघिदेखि नै माघीको तयारी सुरु हुने थारु समुदायमा खानाका परिकारहरू पकाउन काठ, दाउरा अनादी चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने काम गरिन्छ ।

तराईका थारु गाउँहरु अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई विदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारु अगुवाहरु बताउँछन् । यो पर्वमा थारु समुदायले विगतको गतिविधिको समीक्षा समेत गर्ने गर्छन् ।

माघीमा मिठोमिष्ठान खाने, नाचगान गरी रमाउने चलन छ । ‘माघी पर्वसँगै थारु समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डा लगायतका कार्यको थालनी हुन्छ,’ चिसापानीकै राजकुमार चौधरीले भने, ‘यसदिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।’

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको बाँके टिटिहिरियाका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताए । माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सेवा सत्कारका लागि तयारी भइरहेको उनले बताए ।

विदेश कमाउन गएका थारु युवाहरु पनि माघी मनाउन घर फर्किन सुरु गरेका छन् । सबैतिर माघीको तयारी चलिरहेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारुले बताए । ‘गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौ,’ उनले भने, ‘माघीको रौनकले विगतका पीडाहरु भुलाइदिन्छ । ‘थारु पर्व उल्लासमय बनाउन लागिपरेका छौं ।’

माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने/नबस्ने, जग्गा अधिया लगाउने/नलगाउने, बडघर बस्ने/नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउँछन् । पुसको अन्तिम दिन थारु समुदायमा रातभरि आगो ताप्ने, बंगुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ ।

माघ १ गते विहानै भाले बासेको समय करिब विहानै २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासँग आर्शीवादसमेत लिने चलन रहेको छ । माघी पर्वमा एक आपसमा साथीभाईहरुसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।

घोँगीको माग धेरै

माघी पर्व सुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारुलाई घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्न घोँगीको माग अत्याधिक हुने गरेको छ । माघ अधिक भए पनि अत्याधिक चिसोका कारण भनेजस्तो घोँगी भेटाउन नसकिएको थारुले बताए ।

‘घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ । तर पु¥याउनै सकेको छैन,’ थारुले भने, ‘यसपाली भनेजस्तो भेटाउन सकिएको छैन ।’ तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका प्रकाशले आफ्नै तलाउबाट घोँगीको जोहो गर्दै आएको बताए । थारु समुदायमा घोँगीको परिकारलाई बिशेष मानिन्छ ।

स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । होमस्टे, रेष्टुरेण्टहरुमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताए । उनले भने, ‘तीन वर्षअघि प्रतिकेजी रु.३० मुल्य थियो तर अहिले रु.२०० सम्म पुगेको छ । घोँगी मौलिक परिकार बनेको छ । सबैले रुचाएपछि माग पनि बढेको हो ।’

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १०:१९