सूचनाको शक्ति - The Power Of Information

        

हिमपातले सुदूरपश्चिमको जनजीवन प्रभावित, अत्यावश्यक सेवाहरु अवरुद्ध

बझाङ । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । बझाङ जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । बझाङ लगायत डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।

डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् ।

अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ । हिमपातका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रने साना ठूला सवारी साधनसमेत ठप्प भएका छन ।

दूरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमको जिएसएम, एडिएसएल तथा सिडिएमए सेवासमेत प्रभावित भएको छ । धनगढीबाट बझाङ भित्रिने दैनिक उपभोग्य सामान तरकारी फलफूल अन्य दाल चामल लगायत कुनैपनि खाद्यात्र सामाग्री एक हप्तासम्म पनि जिल्ला भित्रन नपाउँदा र बाक्लो हिमपातका कारण विद्यालयहरु समेत बन्द भएका स्थानीय सुरेस जोशीले बताए । बझाङ जोड्ने जयपृथ्वी राजमार्गको बिभिन्न स्थानमा यतिबेला बाक्लो हिउँ जमेको छ ।

डडेलधुराको अनराखोली, बैतडी जिल्लाको श्रीभावर क्षेत्र र बझाङको स्याँडी लगायतका स्थानमा बाक्लो हिउँ जमेका कारण यातायात सञ्चालनमा आउन सकेको छैन् भने यात्रुहरु विच बाटोमै हप्ता दिन देखि अलपत्र परेका छन । बझाङ, बैतडी जिल्लाका बिभिन्न क्षेत्रमा डोजर लगाएर बाटो खाल्ने प्रयास भैइरहेको भएपनि लगातार हिमपात भइरहेकाले बाटो पूर्णरुपमा खोल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उमेश पान्डेले जानकारि दिएका छन् ।

जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा प्रयोग गर्न सकिने वैकल्पिक मार्ग नभएकाले पनि बझाङबासीहरु बढी मारमा पर्ने गरेका छन् । यस्तै नेपाल टेलिकमको सेवासमेत प्रभावित हुँदा यतिबेला जिल्ला सञ्चारविहीनजस्तै बनेको छ । एकहप्ता अघिबाट लगातार हिमपात र भारी बर्षा हुन थालेपछि केदारस्यूँ गाउँपालिकाको केदार र थलारा गाउँपालिकाको बातालेकमा रहेकाका नेपाल टेलिकमका रिपिटर टावरमा बाक्लो हिमपातका कारण सोलार पातामा हिउँ जमेर ब्याट्री चार्ज नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित भएको दुर सञ्चार कार्यालय बझाङले जानकारी दिएको छ ।

केही समय घाम नलाग्दा नेटवर्क नै प्रभावित हुने जिल्लाको यो समस्या भने निकै पुरानो हो । सोलार प्यानल निकै पुरानो भएको र सोलारले धेरै समय पावर ब्याकप राख्न नसक्दा घाम नलाग्दा अवरुद्घ हुँदै आएको छ । सरकारी कार्यालको कामकाज तथा स्थानिय सञ्चार माध्यामहरु पनि बन्द हुन पुगेका छन् । सडक सञ्जाल र फोन इन्टरनेट सेवा अवरुद्ध भइरहेको बझाङमा विद्युत सेवासमेत अवरुद्ध भएको छ । विद्युत लाइन मर्मत गर्न खोजेपनि हिमपातका कारण सडक खुल्न नसक्दा मर्मत गर्न नसकिएको विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १४:०९