सूचनाको शक्ति - The Power Of Information

        

ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक

बाँके । प्रस्तावित लुम्बिनी प्रदेशको एकमात्र संघीय भेरी अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अस्पतालमा आउने अधिकांस विरामी अस्पतालको सेवा सुविधा, चिकित्सकको व्यवहार र सरसफाईप्रति असन्तुष्ट देखिएका छन् ।

अस्पतालमा दैनिक एक हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको अनुमान गर्न सकिन्छ । तर, अस्पतालसँग दैनिक आउने विरामीको यकिन विवरण लिपिबद्ध छैन । उपचारका क्रममा अस्पतालमा भेटिएका अधिकांश विरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् ।

अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन् । अस्पतालले दिने सेवा सम्बन्धमा अधिकांश बिरामी अस्पतालको सेवाबाट असन्तुष्ट छन् । बिरामीहरु अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत ठिक नभएको बताउँछन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सहरूले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए । अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन् ।

अस्पतालको फार्मेसीमा सबै किसिमका औषधि नभएका कारण बिरामीले अस्पताल बाहिर निजी क्लिनिकबाट औषधि खरिद गर्नुपरेको गुनासोसमेत गर्दै आएका छन् । अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामी चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन् ।

अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेको एक जना बिरामीका आफन्त राजन शाहीले बताए । अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका पुरानै दोहोरिरहन्छन् । बिरामीले प्रयोग गर्ने शौचालयसमेत प्रयोग गर्न लायक छैन ।

शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्नसमेत समस्या भएको बिरामीको गुनासो छ । यहाँ कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत विरामीहरू उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा.रुपानन्द अधिकारीले भने अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाई र व्यवहारमा विशेष ध्यान दिएको दाबी गरे ।

अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ छन् । तर, अस्पतालका चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । यद्यपी भेरी अस्पततालमा कार्यरहत डाक्टरहरुले विरामी भएको बेडमा नपुगेरै ढोका बाहिरैबाट ‘राउण्ड’ गर्ने गरेको विरामीहरुको गुनासो छ ।

मेशिन बिग्रिँदा सिकलसेलका विरामी समस्यामा

भेरी अस्पतालमा आउने पश्चिम नेपालका सिकलसेल एनिमियाका विरामीले दश महिनादेखि सिकलसेल एनिमिया जाँच गराउन पाएका छैनन् । अस्पतालको सिकलसेल एनिमिया जाँच गर्ने मेशिन विग्रिएपछि विरामी निजी क्लिनकमा जाँच गराउन बाध्य भएको सिकलसेल विरामीहरु बताउँछन् ।

सिकलसेलको मेशिन बिग्रिए पनि अस्पतालका मेसु डा.अधिकारी र सम्बन्धीत रोगका डा.राजन पाण्डेले अहिलेसम्म मेसिन मर्मत गर्नेतर्फ चासो नदेखाएका विरामीहरुको गुनासो छ । मेसिन विग्रिएपछि निशुल्क उपचार सेवाबाट पनि विरामी बञ्चित भएका छन् । इलेक्ट्रोफोरसिस मेसिन विग्रिएपछि विरामी चर्को शुल्क तिरेर बाहिर जाँच गराउन बाध्य भएका छन् ।

रु.१५ सयदेखि रु.दुई हजारसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । मेशिन विग्रिएकोले निशुल्क सेवाबाट विरामी बञ्चित भएका छन् । आर्थिक अवस्था कमजोर भएका विरामीहरु उपचारबाट बञ्चित हुनुपरेको उनले बताए । अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने गरेका छन् ।

सिकलसेलका विरामीले आठ महिनादेखि चर्को शुल्क तिरेर निजी क्लिनिकमा जाँच गराउन बाध्य भएको चिकित्सक नै बताउँछन् । अस्पतालमा दुई वटा इलेक्ट्रोफोरसिस मेसिन छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले दिएको मेसिन प्रयोगमा नआउँदै थन्किएको छ । स्वास्थ्य विभागले दिएको मेसिन बिग्रिएर थन्किएको छ । स्वास्थ्य सेवा विभागले दिएको मेसिन मर्मत गर्न दिए पनि अहिलेसम्म मर्मत हुन नसकेको अस्पतालका मेसु डा.अधिकारीको भनाई छ ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १३:४८