बाँके । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुई वटा हात्ती ल्याउन विभागसँग लेखापढी भइसकेको छ । दुई वटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको संख्या ६ पुग्नेछ ।
बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगिएको र हात्ती सफारी शुरु भएकाले हात्ती थप्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले भ्रमण वर्षको सुरुवातमै निकुञ्जमा पर्यटकको चहलपहल बढेको बताउँदै प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा बिस्तारै चहलपहल बढेको जानकारी दिए ।
निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जंगल सफारीको रुट बनाएको छ । यो पार गर्न साढे तीन घण्टा लाग्छ । ‘गाभरबाट प्रवेश गरेका पर्यटकहरुले जंगली जनावर, चराचुरुंगी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएका छौं,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘एकपटक आएको पर्यटक फेरि आउन मन लाग्ने घुमाइ हुन्छ ।’
आन्तरिक पर्यटकको रोजाईमा निकुञ्ज परिसकेको छैन । मुख्यमन्त्रीले गएर जंगल सफारीको उद्घाटन गरेपछि प्रचारप्रसार भएको छ । निकुञ्जमा नेपालीलाई रु.१०० प्रवेश शुल्क लिएर रु.५०० मा दुई घण्टाभन्दा बढी हात्ती सफारी गराउने तालिका छ । सार्कका पर्यटकलाई रु.७५० र त्योभन्दा बाहिरकालाई रु.एक हजार ५०० प्रवेश शुल्क कायम गरिएको छ ।
प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले निकुञ्जमा हात्ती सफारी गरेर भ्रमण वर्षको शुरुवात गरेका थिए । प्रदेश सरकारले पर्यटन गन्तव्यको रुपमा बाँके निकुञ्जलाई पनि अघि सारेको छ । तर, संघ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन । सरकारले बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अघि सारिएको छ ।
नेपाल भ्रमण बर्षमा बाँके निकुञ्जलाई मुख्य गन्तव्य मानिएको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएकोमा आर्थिक वर्ष २०७५÷०७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्यांकले जनाएको छ । जसमा १४८ जना आन्तरिक पर्यटक छन् । ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरणसमेत मिलाइएको प्रमूख संरक्षण अधिकृत भट्टराईले बताए ।
‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ,’ भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’ मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरीले बताए ।
आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् । बाघको आहारा प्रजातीका बँदेल, मृग, जरायोको संख्या पर्याप्त रहेको निकुञ्जको दावी छ ।
बाघ संरक्षण गर्ने उद्देश्यले विसं.२०६७ सालमा स्थापना गरिएको निकुञ्जमा निकुञ्जमा ३०० बढी प्रजातीका चराचुरुंगी रहेको निकुञ्जले जनाएको छ । नेपालगन्ज र कोहलपुरमा ठूलाठूला होटलहरु सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई दुई÷चार दिन घुमाउन बाँके निकुञ्ज उत्तम रहेको निकुञ्जका प्रमूख संरक्षण अधिकृत भट्टराईले बताए ।
सत्यपाटी ।