सूचनाको शक्ति - The Power Of Information

        

सरकारी कार्यालयभित्रै कर्मचारीको जुवातास

कालीकोट । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालय हाताभित्र कर्मचारीले जुवातास खेल्ने गरेका छन् । सरकारी कर्मचारीले कार्यालय भित्रै जुवातास खेल्ने गरेको सूचनाका आधारमा सञ्चारकर्मीको टोलीले कार्यालयको हातामै कर्मचारीलाई तास खेल्दै गरेको अवस्थामा फेला पारेको हो ।

दुवै कार्यालयका कर्मचारीले शनिबारको दिन रमाइलो गर्ने भन्दै जुवातास खेल्ने गरेका थिए । मालपोत कार्यालयका भक्तबहादुर शाही, नापी कार्यालयका रंगबहादुर बुढा र मालपोत कार्यालयका कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही लगायतकाले सरकारी कार्यालयको हाताभित्र जुवातास खेलिरहेका थिए ।

उनीहरुले मनोरञ्जनका लागि तास खेलेको स्वीकारेका छन् । ‘हामीले मनोरञ्जनका लागि रमाइलो गरे पनि पैसा राखेर खेलेका छैनांै ।’ मालपोत कार्यालयका भक्तबहादुर शाहीले भने, ‘विदाको दिन टाइम पास गरेका हौं ।’ तर उनीहरूले हरेक दिन बिहान र बेलुका पैसा राखेर कार्यालय हातामै जुवा खेल्ने गरेको प्रत्यक्षदर्शीले बताए ।

आफ्नो नाम नबताउन चाहेका एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरूले विदा मनाउने भन्दै बिहानैदेखि घाममा बसेर एक सयको दाउमा तीनपत्ते फलास खेलिरहेका थिए ।’ सरकारी कार्यालयको हातामै कानून विपरीत कर्मचारीले तास खेल्ने काम गर्न नहुने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले जानकारी दिए ।

‘विदाको दिनमा भए पनि कार्यालय हाताभित्र कुनै पनि ढंगले जुवा खेल्न पाइदैंन,’ प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘कर्मचारीले कार्यालय हातामै जुवा खेलेकै प्रमाणित भए सम्बन्धित कर्मचारीलाई कारबाही हुन्छ ।’

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १०:५६