सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसविहीन बन्दैछ राष्ट्रियसभा

काठमाडौं । माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरु गरिसकेको छ । आयोगले एक जना राष्ट्रपतिबाट मनोनित हुनेबाहेक निर्वाचनबाट पूर्ति हुने १८ रिक्त स्थानका लागि माघ ९ गते निर्वाचनको मिति तय गरिसकेको छ ।

खालि हुन लागेका स्थानमा निर्वाचनबाट पदपुर्ति गर्नका लागि तयारी पूरा भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब हुने निर्वाचनपछि राष्ट्रिसभामा सत्तारुढ दल नेकपा थप बलियो बन्नेछ । १८ मध्ये २ स्थानमा राष्ट्रिय जनता पार्टी र १६ सांसद नेकपाकै निर्वा्चित हुने निश्चित भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।

कांग्रेसले पहिलो दुईवर्ष सात सदस्य राष्ट्रियसभामा गुमाउँदैछ । ‘राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रक्रियामा हुन्छ । त्यसबाट उहाँहरु आउन सकिने नदेखिँदा ठूलै संख्या प्रतिपक्षको गुम्छ,’ नेम्वाङको टिप्पणी छ । ५९ सदस्यीय सभामा कांग्रेसले १३ सांसद पाएको थियो । जसमा सात जनाको कार्यकाल सकिएको छ ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । कांग्रेस अब ६ सांसदमा सीमित हुनेछ । नेकपा भने १६ सांसद भित्र्याउँदै थप बलियो बन्ने देखिन्छ ।

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचन एकल संक्रमणीय भने पनि अब हुने बहुमतीय निर्वाचन प्रणाली नै लागु हुने नेम्वाङ बताउँछन् । सुरुको राष्ट्रियसभामा आफ्नो अत्यधिक बहुमत भए पनि महत्वपूर्ण सिटहरु प्रतिपक्षले पनि प्राप्त गरेको बताउँदै गोला तान्दा दुईवर्षे चिठ्ठामा ठुलै संख्या प्रतिपक्षकै परेको थियो ।

‘अब बहुमतीय प्रक्रियामा निर्वाचन हुन्छ । यसमा कांग्रेस आउने अवस्था देखिँदैन,’ नेम्वाङ्ले भने । राष्ट्रियसभामा दुईवर्ष, चारवर्ष, छवर्षे कार्यकाल हुनेगरि गोला थुतिएको थियो । सो अवधि पूरा गरेपछि रिक्त हुने स्थान निर्वाचनबाट पूर्ति हुने व्यवस्था छ । बहुमतीय प्रक्रियामै जाँदा पनि ६ वटा प्रदेशमा नेकपाको सरकार छ भने धेरै स्थानीय तहमा पनि नेकपाकै सरकार छ ।

कुनै पनि प्रदेशमा सरकार बनाउन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेसको स्थानीय तहमा पनि कमजोर उपस्थिति छ । राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छानिने छन् भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । संविधानमा राष्ट्रिय सभालाई स्थायी सदनका रुपमा व्यवस्था गरिएको छ ।

को हुन् राष्ट्रियसभाका मतदाता ?

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेशसभा सदस्य ५५० गरी २०५६ मतदाता छन् । जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् । स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । जसमा सत्तारुढ दल नेकपाको बलियो उपस्थिति छ । त्यसकारण अब हुने निर्वाचनबाट कांग्रेसले सांसद पाउने सम्भावना न्यून छ ।

कसरी गठन हुन्छ राष्ट्रियसभा ?

राष्ट्रियसभा गठनको व्यवस्था संविधानमा उल्लेख भएबमोजिम हुनेछ । जसमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित ५६ जना हुनेछन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना हुनेछन् ।

जो राष्ट्रिसभाबाट बिदा हुँदैछन्

दुईवर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट बिदा हुनेमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु धेरै छन् । नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना सदस्यको कार्यकाल यहि फागुन २० मा सकिँदैछ ।

सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ । त्यस्तै, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् ।

जो चार वर्ष राष्ट्रिय सभामा रहनेछन्

सांसदहरु परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहालको कार्यकाल ४ वर्ष छ । राष्ट्रियसभामा अर्को दुईवर्ष कार्यकाल रहेका २० जना सांसद छन् ।

दुईवर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुइैवर्ष राष्ट्रिय सभामा रहने छन् । त्यस्तै, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई पनि थप दुई वर्ष संसदमा रहनेछन् ।

यी भाग्यमानी, जो पूरा कार्यकाल रहनेछन्

गोलाप्रथा एकप्रकारले भाग्य चिठ्ठाजस्तै हो । गोला तान्दा जति पदावधि पर्छ त्यति नै समयावधि राष्ट्रियसभामा रहने व्यवस्था छ । यसरी गोला तान्दा पुरा कार्यकाल अर्थात ६ वर्ष नै सांसद बन्न पाउनेमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० सांसद छन् ।

सांसदहरु रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटाको कार्यकाल ६ वर्षकै छ ।

त्यस्तै, सांसद नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल पनि पुरा कार्यकाल राष्ट्रिय सभामा रहने भाग्यमानी हुन् । त्यसबाहेक अब हुने निर्वाचनमा चयन हुने सदस्यको अवधि पनि ६ वर्षको हुनेछ ।

प्रकाशित मिति : २० पुष २०७६, आइतवार १५:५१