
बाँके । नेपाल आयल निगमले ५० औं स्वर्ण जयन्ती देशभर साताव्यापी कार्यक्रमहरु आयोजना गरी आजदेखि भव्यरुपमा मनाइरहेको छ । निगमले यही पुस २६ गतेदेखि ४९ औं बर्ष सफलतापूूर्वक पुुरा गरी ५० औं बर्षमा प्रवेश गर्दैछ । मुुलुुकभर सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालय तथा विभिन्न इन्धन डिपोहरुमा स्वर्ण जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको निगमले जनाएको छ ।
निगमको इन्धन डिपो नेपालगन्जले ५० औं स्वर्ण जयन्तीकै अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । निगमको डिपो परिसरमा आयोजित कार्यक्रममा डिपो प्रमुख पोखरेलले क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सिनियर ब्लड टेक्निसियन राजेन्द्रकुमार महतारालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत ‘रक्तदान–जीवनदान’ भन्ने भावनालाई मनन् गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको निगमका इन्धन डिपो नेपालगन्ज प्रमुख नवविनोद पोखरेलले जानकारी दिए । डिपो प्रमुख पोखरेलले रगतको अभाव खड्किएर कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदान गरौं अरु र आफ्नो जीवन बचाऔं भनेर रक्तदान कार्यक्रम गरिएको पोखरेलले बताए ।
‘रगत अभावले कुनै पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । रगत दान गर्ने संस्कारलाई बढवा दिन हामीले संस्थागतरुपमा रक्तदान कार्यक्रम राखेका हौं,’ डिपो प्रमुख पोखरेलले भने । रक्तदान कार्यक्रममा हवाई इन्धन डिपो प्रमुख मनोहर डिसी, इन्धन डिपो सशस्त्र सुरक्षा बेस क्याम्पका इन्चार्ज अरुणराज तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सशस्त्र प्रहरीका १० जना र निगमका कर्मचारी तथा सवारी चालक २४ जना गरी ३४ जनाले रक्तदान गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका सिनियर ब्लड टेक्निसियन राजेन्द्रकुमार महताराले पछिल्लो समय संघसंस्थाहरुले रक्तदान कार्यक्रम गरिरहँदा रगत अभावको समस्या झेल्नु नपरेको बताए । उनले महिला रक्तदाता भने अझैं पनि अपेक्षित रुपमा बढ्न नसकेको बताए ।
उनले भने, ‘बाँकेमा अहिले रगतको अभाव कम हुँदै गएको छ । रक्तदाताको संख्या दिन प्रतिदिन बढेपछि रगत अभाव हटेको छ ।’ नेपाल रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयंसेवकको छ । रक्तदाता स्वयंसेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियानसमेत सञ्चालन गर्दै आएको छ ।
यसैबीच, नेपाल आयल निगमले ५० औं स्वर्ण जयन्तीकै अवसरमा यही पुस २६ गते अन्तर कर्मचारी खेलकूद प्रतियोगिता तथा विभिन्न कर्मचारी एवं निगममा आवद्ध संघसंस्थालाई सम्मानसँगै प्रशंसापत्र पदान गर्ने भएको छ । सो अवसरमा आयोजित खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टीमलाई प्रमाणपत्र तथा पुरस्कार पनि प्रदान गरिने डिपो प्रमुख पोखरेलले जानकारी दिएका छन् ।


















सत्यपाटी ।