सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया निकुञ्जमा चितुवा आतंक, स्थानीय त्रसित

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको बराहताल गाउँपालिकाका गाउँमा चितुवा पसेर दिनहुँ दुख दिन थालेपछि स्थानीय त्रसित बनेका छन् । चितुवाको आक्रमणबाट बिहीवार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–३ नरसिँहकाँडा गाउँकी ५४ वर्षीया अमृता बराल गम्भीर घाइते भएकी छिन् ।

घर नजिकै बारीमा घाँस काट्दा उनलाई चितुवाले आक्रमण स्थानीय शिक्षक टीकाराम भण्डारीले जानकारी दिए । चितुवाले बरालको खुट्टामा टोकेको छ । उनले हँसियाले हानेपछि चितुवा भागेको घाइतेका आफन्तले जनाएका छन् । घाइतेलाई उपचारका लागि कोहलपुर ल्याइएको बर्दिया निकुञ्जले जनाएको छ ।

यस्तै गत सोमबार बराहताल–३ लेखगाउँकी ४५ वर्षीया चन्द्रकला नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यस्तै, गत असोजमा चितुवाको आक्रमबाट एक बालक घाइते भएका थिए । यसअघि करिब पाँच वर्षअघि जंगली जनावर भगाउन घरमा राखिएका २५५ वटा भरुवा बन्दुक निकुञ्जको उत्तरी क्षेत्रका तरंगा, लेखपराजुल, हरिहरपुर र छिन्चुका स्थानीयवासीले निकुञ्ज प्रशासनमा बुझाएका थिए ।

चितुवाले आतंक मचाउन थालेपछि बर्दिया निकुञ्जबाट प्राविधिक टोलीसहित निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना त्यसतर्फ पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा पाटेबाघ, जंगली हात्ती र चितुवाले पछिल्लो समय जनधनको क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०९:५२