सूचनाको शक्ति - The Power Of Information

        

चिसोले बढायो जहाजका यात्रु

बाँके । नेपालगन्ज विमास्थलमा यतिबेला यात्रुको चाप थामिनसक्नु छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगन्ज विमानस्थलमा चाप बढेको हो । दशै,तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० फ्लाइट भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, दैनिक हवाई जहाज चढेर आवतजावत गर्ने यात्रुको संख्या १२ सयदेखि १५ सयसम्म पुग्छ । यो संख्या विगतको वर्षभन्दा बढि हो । चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए ।

‘अहिले रु.तीन हजारदेखि रु.चार हजारसम्म टिकक पाइरहेको छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, ‘आयस्रोत बढेका कारण छिटो र सहजरुपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।’ नेपालगन्ज विमानस्थलमा दशैं, तिहार र मानसरोवरको सिजनमा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगन्ज–काठमाडौं आवातजावत गर्ने यात्रु धेरै छन् ।

पहाडी जिल्लामा जानेभन्दा बेसी झर्नेको संख्या बढि छ । नेपालगन्ज होलिडेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए । ‘नेपालगन्ज–काठमाडौंको भाडादर रु.१० हजार हुँदा पनि मान्छेहरु प्लेन चढ्थे । अहिले त्योभन्दा धेरै कम छ,’ सिग्देलले भने, ‘जसका कारण सबैको पहुँचमा हवाई यात्रा पुग्यो ।’

सिग्देलले आन्तरिक हवाई यात्रुजस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताउँछन् । भ्रमण वर्ष सुरु भए पनि घुम्नका लागि पश्चिम आउने पर्यटकको संख्या भने कमै छ । नपालगन्ज विमानस्थलमा आन्तरिक यात्रुले नै धानेको छ । नेपालगन्ज विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ ।

चिसोमा हवाई उडान अवरुद्ध हुने गरेको छ । तर यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताए । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगन्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रको सेन्टरमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगन्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । बर्सेनि यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा नागरिकको अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुहरुको गुनासो छ । सडक यात्रामा धेरै जाममा परिने र दुख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो ।

अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाईमार्ग प्रयोग गर्ने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । विमान चढ्ने यात्रुको चाप हेर्दा गत वर्षभन्दा यस वर्ष अझै बढ्ने देखिएको विमानस्थल प्रमुख ठाकुरले बताए ।

‘सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ,’ ठाकुरले भने, ‘हवाई भाडा पहिलेजस्तो महँगो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाई यात्रुको चाप बढेको हो ।’ अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगन्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०६:५९