क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियान होस या दर्जनौ सरकारी गैरसरकारी संस्था र समुहहरुको अभियान होस् या त नेपालगन्ज उपमहानगरपालिकाको नियमित कार्यक्रम, नेपालगन्जको सरसफाइमा सधै बहस हुन्छ, सधै योजनाहरु बन्छन र सधै अभियान चल्छन् । लाग्छ बाग्मती सफाइ अभियानपछि मुलुककै निकै चर्चित अभियान हुने क्षेत्रमा नेपालगन्ज पनि पर्छ । तर पनि किन सरसफाइमा पछि छ नेपालगन्ज यसको जवाफ छोटो र सटिक छैन । २०४६ को परिवर्तनपछि पहिलो जननिर्वाचित नगरपालिका गठन भएलगत्तै नेपालगन्जको सरसफाइमा गहिरो चासो बढेको हो ।
तत्कालीन नगरको अधिकांश बजेट सरसफाइमा खर्चिने गर्दथ्यो, तर पनि सन्तोषजनक परिणाम देखिदैनथ्यो । गहिरो थालजस्तो सहर, अव्यवस्थित संरचना, पुरानो बजार, बाटोको बिचमा मन्दिर, नाली बिनाका साँघुरा सडक र अशिक्षित समुदाय भनेर केही बर्ष धकेलिएको हो । अर्काे निर्वाचनबाट हालका मेयर डा.धवलशमशेर राणाकै नेतृत्वमा नगरपालिका अलिकति उकालो लाग्यो, पूर्व नेतृत्वले बनाएका गुरुयोजनामा तत्कालीन नेतृत्वले न्युरोड निर्माण शुरु गर्नुका साथै सहरका अरु सडक र नाला पनि चौडा र सुधार गर्न पहल गरेको थियो ।
यद्यपि उसबेला पनि नेपालगन्जको सरसफाइमा नालाको दयनिय अवस्था रहेकोले डुडुवासम्म अन्डर ग्राउन्डेड नाला बनाउने परिकल्पना गरिएको थियो, २२ करोड बढीको योजना भएकाले नगरको बजेटले धान्न सकेन, बाह्य श्रोत आकर्षित भएन । ठुलो नाला बनेन, पश्चिम तर्फको काम चलाउ नालाले आजसम्म काम चलाएको छ । ठुलो पानी पर्दा पटकपटक डुबेको नेपालगन्ज फोहरमा सधै डुब्छ, जति जति फोहरमा डुब्छ उति उति चर्चामा आउछ ।
आजको परिस्थिति अलि फरक छ, एडिबीको ऋण सहयोग र केन्द्रीय बजेट सदुपयोग गरेकाले सडक निकै चौडा छन्, अधिकांश सडकमा नाला बनेका छन्, धेरैजसो नालामा ढक्कन लागेको छ, सडक मापदण्ड लागु भएको छ । नगर कार्यपालिकामा ट्रिपर, ट्रेक्टर, ट्रक प्रयाप्त छन्, वडावडामा ट्रेक्टर छन्, समाज पनि शिक्षित छ, हातहातका मोबाइलमा जनप्रतिनिधिको फोन सम्पर्क छ, म्यासेज सुविधा छ ।
समूह समुहमा सरसफाइ अभियान दह्रो छ, अधिकांश घरमा डस्टबिन बाँडिएका छन्, पर्यावरण र सरसफाइमा निकै ठुलो बजेट छुट्टाइएको छ, ठुलो धनराशी खर्चेर डम्पिङ साइट बनेको छ । धेरै विज्ञ र वातावरणविदहरु सल्लाहकार र योजनाकारमा नियुक्त हुनुभएको छ, ठुलाठुला पद र जिम्मेवार अधिकारीहरु कार्यरत हुनुहुन्छ, पढेलेखेका र दक्ष जनप्रतिनिधि हुनुहुन्छ, उ बेलाको नेपालगन्ज र आजको नेपालगन्जमा जमिन आकाशको फरक छ ।
यस्तो उर्बर समयमा नेपालगन्जको सरसफाइको अवस्था के कस्तो छ त, पक्कै सुधार भएको हुनुपर्छ, नागरिक सचेत भएका हुनुपर्छ, फोहर जथाभावी नफालेर निश्चित स्थान वा नगरपालिकाले सन्चालन गरेको ट्रेक्टरमा जम्मा गर्ने गरिएको हुनुपर्छ । यसको आशय बुझ्न र सरसफाइमा जागरुक गराउन लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको ‘नेपालगन्ज ग्यालरी’ पेजले हालै सर्भे गरेको छ ।
सो सर्भेमा हेर्दा खासगरी सरकारी अड्डामा बढि फोहर गरेको र पिछडिएको समाजमा अव्यवस्थित तरिकाले फोहर फालिएको जनाइएको छ । कमेन्टमा कुनै वडा या गल्लीमा सफाइ छ भन्ने देख्न पाइदैन, बरु अझ जिम्मेवार निकायमा अझ बढी फोहर भएको आक्षेप लगाइएको छ ।
नेपालगन्ज ग्यालेरीको ‘नेपालगन्जको सबभन्दा फोहोर भएको एरिया कुन हो…?’ (नोट : उद्देश्य सफा गरून् भन्नको लागि) भन्ने उत्सुकतामा यस्ता कमेन्ट देखिए, नब्बे हजार जति सदस्य रहेको सो पेजमा करिब दुईसय बढी कमेन्टबाट नेपालीमा गरिएका केही चुनिँदा कमेन्ट यहाँ पस्केको छु । आशा छ यी कमेन्टले नेपालगन्जको सरसफाइमा उत्साहजनक सोच पहिल्याउने छन् ।
- त्रिभुवन चोकदेखि रानी तलाब जाने बाटोमा धेरै फोहर हुन्छ ।
- पहिले मुख सफा राख्नुपर्यो अनि बल्ल कुराकानी हुन्छ, सन्दर्भ नेपालगन्जमा गुट्का, सूर्तिजन्य पदार्थ बेचबिखन बन्देज भयो भने सरसफाइ सुध्रन्छ ।
- समग्रमा भन्ने हो भने नेपालगन्ज नै फोहोर छ ।
- भेरी अस्पतालको ट्वाइलेट निकै दुर्गन्धित छ ।
- त्रिभुवन चोकदेखि रानी तलाउ जाने बाटोमा धेरै फोहर हुन्छ ।
- पहिलाको १२ अहिलेको ९ नम्बर वडा को सरस्वती टोलको धुरपटुवा तलाव नजिक ।
- जय बागेश्वरी स्कुलदेखि कालिमाई मन्दिर जाने बाटो फोहर, अब्यवस्थित, अँध्यारो र स्कुले बालबालिकाको लागि एकदमै जोखिमयुक्त बाटो साथै जिम्मेबार र ठेका पायका कम्पनी र निकाय कानमा तेल हालेर बसेको अवस्था र लाचार भएर बस्नु परेको बाटो ।
- जय बागेश्वरी स्कुलदेखि बागेश्वरी मन्दिर जाने बाटो र खजुरा रोडको अटो स्टेसनमा ।
- बजार एरियाको भित्रि बस्ती जहाँ मधेसी समुदाय छन्, उनीहरुले नालामा दिशा पिसाब गराउने जस्ता कार्य गराउँछन् ।
- नेपालगन्जका जति अफिस छन्, तिनको दायाँबायाँ र पछाडिको भाग अनि सिडिको अफिसको कुना, कुनामा फोहर छ ।
- नेपालगञ्ज–१८ हो सबैभन्दा धेरै फोहर हुने ठाउँ । सडक डिभिजन कार्यालयको पूर्वतिर प्रहरी अस्पताल हुँदै साविक बसुदेवपुर हाल वडा नं. १९ जाने बाटो तलाउ आसपासमा खुलारुपमा दिसा पिसाब (हगन) कार्य हुन्छ । यसबाट वातावरण प्रदुषण हुनुका साथै सबैभन्दा फोहर हुने वडा भने पनि हुन्छ ।
- खुला दिशामुक्त नगरको वडा नं. रे ! ध्यान जाहोस १८ नं. अध्यक्ष ज्यु ।
- बाटो फोहोर भएको एरीया ।
- नगरपालिका भवनबाट पश्चिम जाने बिपी मार्ग जो सुनाखरी कटेजको अगाडिदेखि एक किलोमिटर पश्चिमसम्म दुर्दशा छ बाटो ।
- घंसियारा मण्डीबाट रानीतलाउ निस्कने भित्री बाटो ।
- मालपोत, राजस्व, हस्पिटलदेखि सबै एरिया चोकचोक जताततै फोहरै फोहर छ ।
- घरबारी टोलको दैलेखी बङलासम्म अति फोहर छ ।
- यातायात कार्यालय, मालपोत, अनि नापी कार्यालय ।
- गणेशपुर मेरो घरको अगाडी सबैले फोहर फाल्छन् नगरपालिकाले कहिले पनि उठाउँदैन, नगरपालिकामा धेरैपटक भनिसके कसैले पनि वास्ता गर्दैन ।
ग्यालेरीका सबै सहभागी साथिहरुको कमेन्ट पढ्दा हेर्दा पुरै नेपालगन्ज फोहोर देखियो । सम्बन्धित निकायको ध्यान जाओस्, चेतना जागोस् । यसमा नेपालगन्ज उपमहानगरका मुख्य नेतृत्वकर्ता मेयर ज्युको पनि कमेन्ट छ, उहाँ लेख्नुहुन्छ :
- Good please let me know where we can improve.
सबैको कमेन्ट पढ्दा नेपालगन्ज कतै सफा देखिएन, पुरै सहर फोहोर छ, हरेक कुना, मठ मन्दिर, मस्जिद, गुरुद्वारा, स्कुल, अफिस, मसानघाट या पार्कहरु सधै सफा राख्न नगरपालिकाले एक्लै सक्दैन, सम्बधित सबै निकाय र नगरबासी, सरसफाइ अभियन्ता सबैको हातेमालो बढोस, खबरदारी होस् । हामी सबैमा सरसफाइ चेतना जागोस् ।
विष्णु पोखरेल ।