सूचनाको शक्ति - The Power Of Information

        

अब कर तिर्न कार्यालय पुग्नपर्दैन : अर्थमन्त्री खतिवडा

कैलाली । अर्थमन्त्री युवराज खतिवडाले सुदुरपश्चिम प्रदेशको विकासमा आफु लागि परेको बताएका छन् । उनले सौर्य उर्जादेखि विकासका अन्य काममा पनि यो प्रदेश नै प्राथमिकतामा पार्ने गरेको बताए । सुदूरपश्चिम प्रदेशको धनगढी आएका अर्थमन्त्री खतिवडाले बिहिबार उद्योग बाणिज्य संघ कैलालीले गरेको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने भन्दै उनले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिए । बिभिन्न ब्यवसायी र युवालाई ऋणको लागि पनि सहुलियत रिण प्रदान गर्नका लागि बैंकहरुसँग कुरा भइरहेको उनले बताए ।

अब ठूलो ब्यवसाय गर्नेहरुका लागि बैंकबाट सहुलियत ऋणका लागि सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । बैंकहरुले र बिभिन्न विकास निर्माण कार्य गर्दा हुने असारे चटारोको अन्त्य हुने मन्त्री खतिवडाले दावी गरे । उनले बैंकहरुलाई पनि सेवाग्राहीसँग ऋण भुत्तानी गराउँदा असारमा नसताउन आग्रह गरे ।

उनले छिटै नै पहाडी जिल्लाबाट कर तिर्नका लागि करदाताले तराई झर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले १ लाखसम्मको कर अनलाइनबाटै तिर्न सकिने ब्यवस्था गर्न लागेको बताए । उनले करको दायरामात्रै नभएर करको प्रशासनको पनि दायरा बढाउनमा सरकार लागि रहेको बताए ।

५० बढि ठाउँमा कर तिर्नका लागि कार्यालयको स्थापना गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । बिभिन्न नाका, छोटी भन्सार नाकालाई छिटै बिस्तार गरिने उनले बताए । उद्योग वाणिज्य संघ कैलालीले यस क्षेत्रका बिभिन्न बिषयमा रहेका २० वटा बित्तिय समस्याबारे गुनासा अर्थमन्त्री खतिवडालाई बुझाएका थिए ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०८:५१