सूचनाको शक्ति - The Power Of Information

        

थारु समुदायमा भलमन्सा प्रथा : माघमा चुनिने भलमन्साका लागि पुसमै बहस

कैलाली । माघी आउन अहिले पनि दुई साता बाँकी छ । थारू समुदायमा भने गाउँमा कसलाई भलमन्सा बनाउने भनेर छलफल सुरु भइसकेको छ । ‘भलमन्सा (मुखिया) छान्नका लागि माघ महिना नै कुर्नुपर्छ । तर, गाउँमा को भलमन्सा बन्न लायक छ भन्ने छलफल पुसबाटै गाउँमा हुन थाल्छ,’ धनगढी उपमहानगरपालिका ५ का सुरज चौधरीले भने । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला हो ।

यहाँ बसोवास गर्ने थारु समुदायका ब्यक्तिहरु बर्षभरिका लागि एक जना मुखिया चुन्ने गर्छन् । जसलाई उनीहरु भलमन्सा भन्ने गर्दछन् । उहिले भलमन्सा र बडघर छनोट सर्वसम्मत ढंगबाट हुन्थ्यो । भलमन्सा चुन्दा वंशजका आधारमा गाउँका धनी र हुनेखाने घरबाट छानिन्थ्यो । अहिले यो चलन हटेको छ । कुनै बस्तीमा त चुनाव नै हुन थालेको छ । तर, थारु समुदायको भलमन्सा छान्दा उनीहरु कुनै विवाद गर्दैनन् ।

अन्य राजनैतिक दलको चुनाव हुँदा आर्थिक प्रलोभनमा चुनाव जिताइन्छ । यहाँ सहमती र सबैको समझदारीमा नै भलमन्सा निर्धारण गरिने गर्छ । विगतमा पुरुष मात्रै भलमन्सा हुन्थे । अहिले केहि ठाउँमा महिला पनि भलमन्सा हुने गरेका छन् । सुरजले भने, ‘भलमन्सा प्रथा विगतका बर्षभन्दा केहि परिमार्जित हुँदै गएको छ । अहिले पहिले बृद्ध र पाको ब्यक्ति मात्रै भलमन्सामा नियुक्त हुन्थे । अहिले युवा पनि भलमन्सामा चयन हुने गर्छन् ।’

‘विशेषतः भलमन्साको समयावधि एक बर्षको हुन्छ । तर, भलमन्साले वर्ष दिनभरि गरेका राम्रा र नराम्रा कामको लेखाजोखा गरेर उसको समयावधि थप पनि हुने गर्छ,’ धनगढी उपमहानगरपालिका ३ का फिरुराम चौधरीले भने, ‘विगतमा निस्वार्थ रुपबाट भलमन्सा छनौट हुने भए पनि अहिले केहि ठाउँमा राजनीतिक प्रभाव पनि पर्ने गरेको छ ।’ राजनीतिक आस्थाका आधारमा भलमन्सा छनोट हुँदा त्यसले न्यायमा पनि असर पर्ने उनको आशंका छ ।

भलमन्सालाई गाउँको परिचालकका रुपमा लिइन्छ । गाउँघरमा स्थानीय सरकार गठन भएर स्थानीय तहले नै सानातिना विवाद सुल्झाउने जिम्मा पाइसकेको छ । तर, रानाथारु समुदाय भने अधिकांस मुद्धाहरु अहिले पनि भलमन्साकै मद्दतले समाधान हुन्छन् । उनीहरु सकेसम्म गाउँघरका समस्या प्रहरी समक्ष जान दिँदैनन् । ‘यो पूर्खौदेखिको चलन हों’ धनगढी उपमहानगरपालिका २ बैयाबेहडीका पूर्व भलमन्सा केशव चौधरीले भने ।

अहिले पनि गाउँका सामान्य विवादहरु भलमन्साले नै मिलाउने गरेको केशवले बताए । ‘पहिले गाउँघरमा प्रहरी चौकी थिएनन्, स्थानीयका गुनासा सम्बोधन गर्ने निकाय सम्म सबै सर्वसाधारणको सहज पहुँच थिएन् । त्यसैले गाउँलेका समस्या समाधान गर्न भलमन्सा बनाइन थालेको हो,’ उनले भने । वर्षदिनका लागि छानिने भलमन्साको रोहबरबिना गाउँमा जन्तीपनि हुँदैन ।

‘गाउँमा कसैको विवाह हुँदा कसले के काम गर्ने भन्ने कुरा भलमन्साले निर्धारण गर्छन्,’ धनगढी उपमहानगरपालिका २ का मोहन चौधरीले भने, ‘अहिले गाउँघरमा प्रहरी, स्थानीय तह आएसँगै भलमन्साको जिम्मेवारी कम भएको छ । तर, भलमन्सा प्रथा अहिले पनि थारु समुदायमा कायम छ ।’ गाउँमा कुनै विकास निर्माणका काम हुँदा पनि जनश्रमदानका कुरादेखि विकास निर्माणका काम सम्पन्न गर्नमा पनि भलमन्साको महत्वपूर्ण भूमिका रहने गर्छ ।

उनले पहिलेपहिले गाउँमा कोही पाहुना, सरकारी कर्मचारी र कार्यक्रम आएपछि सबैभन्दा पहिले भलमन्सालाई नै खबर हुने गरेको बताए । गाउँमा हुने हरेक कार्यक्रमको बन्दोबस्त मिलाउने काम भलमन्साले नै गर्ने गरेको उनको भनाइ छ । अहिले ति कामहरु सरकारी कार्यालयबाट हुन थालेका छन् । भलमन्सा भनेको सबैका लागि सम्मानित ब्यक्ति हुन् ।

‘सबैले मान्ने ब्यक्ति भएकोले राजनैतिक चुनावका बेला पनि अधिकांस मत भलमन्साकै पक्षतिर जाने गर्छ,’ मोहनले भने । हरेक बर्ष माघमा एकदिन गाउँभरिका मानिसहरु एक ठाउँ भेला हुन्छन् । सबैको सहमति र टिकाटिप्पणी पछि एकजना भलमन्सामा नियुक्त हुन्छन् । तिनै ब्यक्तिले रानाथारु समुदायमा बर्षभरि अगुवाको भुमिका निभाउने गर्छन् । धनगढी राजपुरका भानु चौधरी भन्छिन्, ‘पहिलेपहिले भलमन्सा निर्धारण गर्दा बंशजका आधारमा (बुवा हुँदै छोरा) हुन्थे । अहिले सबैको भावनालाई ख्याल गरेर भलमन्सा बनाइन्छ ।’

रानाथारू समुदायमा पुर्खादेखि चल्दै आएको भलमन्सा प्रथाको महत्व अहिले पनि कम नभएको उनको दाबी छ । भलमन्सा तोकिसकेपछि समुदायका हरेक निर्णयहरु भलमन्साकै निर्देशन अनुसार हुने गरेको भानुको भनाइ छ । गाउँमा बर्षभरिका निर्णयहरु र समस्याहरुको सम्बोधन गरे वापत गाउलेहरुले भलमन्सालाई बार्षिक रुपमा पारिश्रमिक दिने गर्छन् ।

उनीहरु घरघरबाट तोके बमोजिम धान र गहुँ जम्मा गरेर भलमन्सालाई बुझाउने गर्छन् । नेपालको कैलाली र कञ्चनपुरमा ठूलो संख्यामा बसोबास गर्ने रानाथारु समुदायका ठूला–ठूला बस्तीहरु छन् । कैलालीको बनकट्टा, खरुवाखेरा, तुलसीबारी, के गाउँ, गदहरीया, राजपुर, जोशीपुर, बैयाबेहडि, बडहरा, धनगढीको कैलाली गाउँ, धनगढी गाउँ, बेहडाबाबा, बेली राना थारुको ठूलो संख्यामा बसोबास हुने क्षेत्र हुन् ।

यस्तै कञ्चनपुरको देखतभुली, जाँई, पिपरैया, बिचुवा, गुलरीया, सुन्दरपुर, पिपलाडि, बैवाह, सिमलडाँडी, कमरी, कुण्डा, बरैया पनि रानाथारुको बाक्लो बस्ती भएका क्षेत्रहरु हुन् । जहाँ टोल र गाउँपिच्छे उनीहरुले फरक फरक भलमन्सा तोक्ने गर्दछन् । थारु जातीको बाहुल्यता रहेका जिल्लाहरु कैलाली, कञ्चनपुरसहित दाङ, बाँके, बर्दियामा रहेका थारू समुदायमा पनि समुदाय परिचालनका लागि हरेक गाउँमा एक जना बडघर, चिराकी, चौकीदार, गुरुवा र केशौका राख्ने परम्परा रहिआएको छ ।

गाउँको न्याय गर्ने अधिकार पाएको भलमन्सालाई सघाउन गाउको सूचनादाताकै रुपमा चिराकी, धार्मिक तथा रोगव्याध लागे झारफुक गर्ने गुरुवा र गुरुवाको सहयोगका लागि चौकीदारको व्यवस्था गरिने गरेको भानुले बताइन् । एकल बडघर हुदा एकलौटी निर्णय हुने खतरा बढी हुने भएकोले कतिपय ठाउँमा कार्यसमिति नै बनाएर पनि यस प्रथालाई निरन्तरता दिइरहेको धनगढी ३ बडहरा गाउँका भलमन्सा शेरबहादुर चौधरीले बताए ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १३:३०