बाँके । उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य)तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग)तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।
सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् । त्यस्तै बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहेका छन् ।
उम्मेदवारी घोषणापछि बोल्दै अध्यक्ष पदका उम्मेदवार ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गरे । ‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने विश्वास छ,’ अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने । व्यवसायीक हितका लागि सबै त्यागेर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
उनले नेतृत्वमा पुर्याए निजी क्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘यहाँको दुःख, सुखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य लगायतले व्यवसायीक हितमा निरन्तर खटिन सक्ने सामाथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै सहयोग गर्न आग्रह गरे ।
प्रदेश सांसद एवं नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले समेत घोषणा सभामा सहभागी हुँदै आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेका अनुसार, उम्मेदवारी घोषणासँगै औपचारिकरुपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।
सत्यपाटी ।