प्रतिकात्मक तस्वीर
बाँके । नेपालगन्ज नाकाबाट बाहिरिएका ५७२ जना महिलाको अवस्था अज्ञात रहेको छ । सन् २०१९ मा यो नाकाबाट ८६९ जना महिला जोखिमपूर्ण यात्रामा रहेकोमा २९७ जनामात्रै फेला परेका हुन् । माइती नेपाल, नेपालगन्जमा ८६९ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए । ती मध्येमा २९७ जना फेला परे । बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन ।
नेपालगन्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा पुगेका नेपाली महिला घरपरिवारको सम्पर्कमा नआएका हुन् । माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले प्रायः वैदेशिक रोजगारीमा गएकाहरु हराएको बताए । ‘वैदेशिक रोजगारमा गएकाहरु फर्केर नआएको, धेरै समयसम्म सम्पर्कमा नभएको वा अति नै दुख पाएको भन्दै रोएर फोन गरेपछि हामीलाई खोजतलास र उद्धारका लागि निवेदन दिने गरिन्छ,’ कोइरालाले भने, ‘हामीले सकेसम्म उद्धार गर्छौँ ।’
खोजतलासका लागि निवेदन दिएकामध्येमा फेला परेका २९७ जना भने भारत र नेपालमै फेला परेका हुन् । पछिल्लो समयमा नेपालगन्जलाई मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टको रुपमा लिने गरिन्छ । माइती नेपाल, नेपालगन्जका प्रमुख कोइरालाका अनुसार, खोजतलासका लागि निवेदनलाई हेर्दा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट,सल्यानका बढी रहेका छन् । कुन समुदायका महिला बढी प्रभावित छन् त ?
माइती नेपालको तथ्यांकमा ब्राम्हण क्षेत्री अगाडि छन् । त्यसपछि दलित, जनजाति र आदिवासी रहेका छन् । उमेर समूहका अनुसार १८ वर्षभन्दा मुनिका ३३९ जना छन् । मानव बेचबिखनका लागि नेपालगन्ज र बर्दिया नाकालाई दलालले प्रयोग गर्ने गरेको पाइन्छ । पछिल्लो दिनमा जोखिमपूर्ण यात्रामा जाने महिलाले झोलासमेत बोक्न छोडेका छन् । दलाल त उनीहरुसँग सँगै हुँदैनन् ।
कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका ८९६ जनालाई माइती नेपालले नाकाबाट फिर्ता गरेको छ । बेचबिखनविरुद्धमा कानूनी कारबाही भने कमै हुने गरेको छ । जोखिम परेका पीडितले नै प्रलोभनमा परेर दलाललाई बचाइदिने गरेको पाइन्छ । दलाललाई कारबाही गर्छु भनेर कस्सिने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिए ।
सत्यपाटी ।