काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउने घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) देखि सुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच भ्रमण वर्षको औपचारिक शुभारम्भ हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तयारी छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।
बुधबार अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट सुरु हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ ।
कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्ने छन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रूपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आएका छन् । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आएका हुन् ।
भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन् । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आएका छन् ।
भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरू पनि काठमाडौँ आएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बताए ।
सत्यपाटी ।