सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन् विश्वले हासिल गरेका उपलब्धी

२०१९ लाई फर्केर हेर्दा

सीएनएन । २०१९ को अन्त्य नजिकिँदै जाँदा कतिका लागि यो वर्ष साचेजस्तै रह्यो भने कति चाहिँ अनपेक्षित घटनाको शिकार हुनुपर्यो । यसबीच वर्ष २०१९ मा सबैभन्दा बढी जनप्रदर्शन भएको छ भने दुर्घटना, जलवायु परिवर्तन, आर्थिक युद्ध लगायत विश्वले धेरै नराम्रा खबरहरुको सामना गर्नुपर्यो । तर सबै क्षेत्रमा २०१९ ले केही न केही सुखद्र उपलब्धी पनि दिलाएको छ ।

वैश्विक सफल घटनाहरु अन्तर्गत यसवर्ष भारतले हालसम्मकै पहिलो महिला पाइलटलाई स्वागत गरेको छ भने अष्ट्रियाले पहिलो महिला चान्सलर पाएको हो । त्यस्तै युरोपेली कमिसनले पनि पहिलो महिला अध्यक्ष चयन गरेको छ । यसैगरी फिनल्यान्डको संसदमा हाल चार प्रमुख पार्टीमा महिलाहरुको बाहुल्यता रहेको छ । २०१९ मा पहिलोपटक विश्वका चारैवटा महत्वपूर्ण सौन्दर्य अवार्ड काला वर्णका महिलाले प्राप्त गरेका हुन् ।

यता मेकेडेनिया पुनः नामाकरणपछि ग्रीससँगको दशकौँदेखिको लडाईँ अन्त्य भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियामा कदम राख्ने पहिलो कार्यकालिन राष्ट्रपतिको नयाँ इतिहास रचेका छन् । त्यस्तै यसै वर्ष पोप फ्रान्सिस अरब मुलुक भ्रमण गर्ने पहिलो क्रिस्टियन पूजारी बनेका हुन् । अमेरिकामा भने यस वर्ष सिकागोले हालसम्मकै पहिलो अफ्रिकी अमेरिकी महिलालाई मेयरका रुपमा छनोट गरेको हो ।

त्यस्तै अलबामाले पनि २०० वर्षपछि कालो वर्णका मेयरलाई स्वागत गरेको छ । आईएसआईएसका लिडरको एन्काउन्टरमा सहयोग पुर्याएको सैनिक कुकुरलाई सम्मान दिएको खबरले पनि २०१९ मा विश्वव्यापी चर्चा पायो । मानव अधिकारवादीहरुका लागि पनि यो वर्ष केही हद्सम्म फलदायी नै साबित भएको छ । २०१९ मै इन्डोनेशियाले बालविवाह अन्त्य गर्न बेहुलीको न्युनतम उमेर निर्धारित गरिदिएको छ ।

त्यस्तै अब साउदीका महिलाहरु बिना रोकावट स्वतन्त्र रुपमा भ्रमण गर्न पाउने भएका छन् भने समलिङ्गी विवाहको पक्षमा प्रस्ताव पारिद गर्ने ताइवान एसियाकै पहिलो मुलुक बनेको छ । यता इरानका महिलाहरुले भने ४० वर्षपछि पहिलोपटक फुटबल स्टेडियममा बसेर हेर्न पाउने भएका हुन् । यसैगरी वर्ष २०१९ मा वातावरणीय सफलता पनि हासिल गरिएको छ । यो वर्ष ‘सिङ्गल–युज प्लाष्टिक’ माथि प्रतिबन्ध लगाउने देशहरुको सङ्ख्यामा अधिक वृद्धि भएको छ ।

त्यस्तै हम्पब्याक ह्वेललाई दक्षिण अट्लान्टिकमा लोप हुनबाट बचाइएको छ । यसैगरी लोप भइसकेको भनिएको एउटा प्रजातिको कछुवा अनि दुर्लभ कालो चितुवा १०० वर्षपछि फेला परेका हुन् । नासाका अनुसार पृथ्वी आजको २० वर्ष अगाडि भन्दा धेरै हरियो भएको छ । वैज्ञानिकहरुले विभिन्न जीवजन्तु र बोटविरुवाका ७१ वटा नयाँ प्रजातिको आविस्कार गरेका छन् । नर्दन ह्वाइट राइनो नामक दुर्लभ प्रजातिको अन्तिम गैँडालाई बचाउन जीवविद्हरुले नयाँ अण्डा विकसित गराएका छन् ।

क्यानडाले पनि यसै वर्षमात्र ह्वेल र डल्फिनलाई कैद गर्नमाथि प्रतिबन्ध लगाएको हो । स्वास्थ्य र विज्ञानको क्षेत्रमा पनि २०१९ सफल रहेको बताइएको छ । वैज्ञानिकहरुले पहिलोपटक अल्जाइमरको लक्षण देखा पर्नुभन्दा १६ वर्ष अगाडि नै यसलाई पत्ता लगाउन सक्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनले समलिङ्गीहरुलाई मानसिक रोगका बिरामीका रुपमा वर्गीकृत नगर्ने भएको छ । अल्जेरिया र अर्जेन्टिनाबाट मलेरिया पूर्ण रुपमा नष्ट भएका छन् ।

त्यस्तै यहीवर्ष पहिलो पटक एचआइभी संक्रमित दुई व्यक्ति ठीक हुन सफल भएका हुन् । र, एचआइभी पोजिटिभ भएर पनि पहिलो पटक एक महिलाले मिर्गौला दान गरेकी हुन् । मानव जातिसँग सम्बन्धित नयाँ प्रजातिको खोजी भएको छ । यसैगरी अफिकालाई पोलियोमुक्त गराउने उल्लेखनीय उपलब्धी पनि हासिल गरिएको हो । यता नासाले यो वर्ष पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर लिन सफल हुनुले पनि यो वर्ष अन्तरिक्ष विज्ञानका निम्ति अधिक महत्वपूर्ण साबित भएको छ । त्यस्तै हाम्रो वायुमण्डलमा पृथ्वी बाहिर पहिलोपटक पानी भेटिएको घटनाले पनि पृथ्वी बाहिर जीवनको नयाँ सम्भावना जगाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १०:५९