सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय बन्द गरेर नीजि घर बनाउँदै शिक्षक

बझाङ । विद्यालयका शिक्षक पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन् । विद्यालयका शिक्षक पढाउन छोडेर निजी घर निर्माण गर्न थालेपछि विद्यालयको पठनपाठन बन्द भएको छ ।

बझाङको साइपाल गाउँपालिका–२ मा रहेको जनज्योती प्राथमिक विद्यालय एक सातादेखि बन्द भएको छ । विद्यालयमा दुई जनामात्रै शिक्षकको दरबन्दी छ । विद्यालयमा अध्ययन गराउँदै आएका शिक्षक जस्विर बोहरा सदरमुकाम चैनपुरमा एक महिनादेखि घर बनाउन थालेपछि विद्यालयको पठनपाठनमा समस्या भएको हो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक दिपक रोकाया पनि गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि भन्दै खेलकुद सामाग्री खरिदका लागि सदरमुकाम चैनपुर आएपछि एक सातादेखि पठनपाठन प्रभावित भएको छ । दुई जना शिक्षक र ५५ जना विद्यार्थी संख्या भएको उक्त जनज्योती प्राथमिक विद्यालयमा शिक्षकहरु पढाउन छोडेर चैनपुर आएपछि एक सातादेखि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएको स्थानीय बसन्त बोहराले बताए ।

शिक्षक बोहरा साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहराका श्रीमान भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र उपस्थित हुने गरेको स्थानीयहरुको आरोप छ । शक्ति र पहुँचको आडमा रही विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरी रहेको स्थानीयको आरोप छ ।

उनीहरु भन्छन्, ‘दुई महिनासम्म विद्यार्थीहरु पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन् । श्रीमती उपाध्यक्ष भएपछि शिक्षक बोहराले कसैले भनेको वास्ता पनि गर्दैनन् ।’ खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफु सदरमुकाम चैनपुर आउँदा विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोकायाले बताए । ‘दुई जना शिक्षक छौं, आवश्यक काम पर्याे भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,’ प्रअ रोकायाले भने ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०९:०४