चिरञ्जीवी ढकाल
छिनेको कम्मर डोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
जामाको ठाउँमा चोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
लजाएर झुक्ने नजर, जुधौँजुधौँ गर्छन्,
अचेल नजर लोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
मझेरीझैँ सम्म थियोे, अस्तिजस्तै लाग्छ छाती,
चोलोभित्र पनि झोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
अटमस्स भै जीउडाल, भरिएर त होला,
सधैं पसिनाको खोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
निरसिलो वैलाएझैँ, लाग्थ्यो अस्तिसम्म तर,
अचम्मै रसिलो थोलो देख्छु, वैंशै चढ्यो क्यारे ?
११ पुस २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।