सूचनाको शक्ति - The Power Of Information

        

१५ वर्षदेखि फरार कैदी पक्राउ, छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा कारागारबाट भागेर १५ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले २०६१ सालमा तत्काली माओवादीले कारागारमा आक्रमण गर्दा भागेका कर्तव्य ज्यान मुद्दाका कैदी भजनी नगरपालिका ५ का दिलबहादुर साउँदलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले साउँदले जिल्ला र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले साउँदलाई भजनी नगरपालिका ५ बाट पक्राउ गरिएको हो । साउँदलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । साउँदले २०५५ साल फागुन ५ मा साविकको लालबोझी गाविस ७ का रतन साउँदको हत्या गरेका थिए ।

जिल्ला अदालत कैलालीले २०५६ पुस २६ मा फैसला सुनाउँदै २१ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । उनलाई २०६० फागुन १९ गते पक्राउ गरी प्रहरीले कारागार चलान गरेको थियो । तर २०६१ माघ २१ गते तत्कालीन माओवादीले कैलाली कारागार आक्रमण गर्दा भागी फरार भएर साउँद भारतबाट आधार कार्डसमेत बनाएर बस्दै आएको प्रहरीले जनाएको छ ।

यसैबीच, घरको छत ढलान गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका–२ का पुरुषोतम जोशीको घरको छत ढलान गर्ने क्रममा खसेर घाइते भएका कैलारी गाउँपालिका–१ का २२ वर्षीय बालकृष्ण कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छतबाट खसेर गम्भीर घाइते भएका कठरियाको धनगढीमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो । कठरियाको भारतको बरेलीमा रहेको राममुक्ति मेडिकल कलेजमा आइतबार बिहान मृत्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : ६ पुष २०७६, आइतवार १६:२०