सूचनाको शक्ति - The Power Of Information

        

अपहरणमा परेका गाउँपालिका अध्यक्षको खोजी गर्न प्रहरी परिचालन

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा एक गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई शनिबार मध्यराती विप्लव समूहले अपहरण गरेको हो ।

शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारीले इन्द्रबहादुर क्षेत्रीले प्रारम्भीक विवरणमा दुबै जना अपहरणमा परेको देखिएको बताए । ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

कर्णाली प्रहरीका प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले शाहीको खोजीका लागि प्रहरी परिचालन भइसकेको बताए । नेकपाका विदेश विभाग उपप्रमुख रहेका नेता विष्णु रिजालका अनुसार शाही दम्पत्तिलाई हिजो राती ठाटीकाँध–२ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लिएको जानकारी दिएका छन् । रिजाल दैलेख निवासी हुन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘इला शाहीलाई बीच जंगलमा छाडिएको छ, धीरबहादुर शाहीलाई भुवानथानतिर लगिएको छ ।’ दैलेखमा प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक हरि ओली, सुर्खेतमा प्रहरी नायव महानिरिक्षक पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको रिजालले बताएका छन् ।

‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ,’ रिजालले लेखेका छन्, ‘विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रह गर्दछु ।’ गतवर्ष सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले जनप्रतिनिधिसँग तीव्ररूपमा चन्दा असुली गरे पनि जनप्रतिनिधिलाई अपहरण नै गरेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : ६ पुष २०७६, आइतवार ११:१२