बाँके । बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । गत शनिबार र आइतबार परेको वर्षापछि अत्यधिक जाडो बढेको छ ।
चिसाले बाँकेका अल्पसंख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधिया लगायत गरिब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले यो समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबारे सचेत गराउन प्रशासनले सार्वजनिक हितका लागि सूचना जारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले न्यानो कपडा र आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिएको बताए ।
‘नेपालगन्ज, कोहलपुर लगायत जिल्लाका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाउने स्थानीय तहलाई भनेका छौँ,’ उनले भने । चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगन्ज प्रमुख पलबहादुर विश्वकर्माले मंगलबारदेखि शीतलहर सुरु भएको बताए ।
अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा जाडोको महसुस बढी भएको उनको भनाई छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्किने गरेका छन् । नेपालगन्ज–१९ का प्रमोद गिरीले चिसो हावा चलेर अत्यधिक चिसो बढेपछि घरबाहिर निस्कनै नसकेको बताउनुभयो । ‘चिसोले काम गर्न जाँगर पनि चल्दैन,’ उनले भने ।
चिसो बढेपछि बिरामीलाई पनि समस्या भएको छ । मुटु, श्वासप्रश्वास, बाथ रोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए । उनले चिसोमा कोल्ड डाइरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीको समस्या बढी देखिने बताए ।
डा.पाण्डेले अस्पतालमा चिसोका बिरामी बढ्न थालेको बताउँदै भने, ‘बालकालिका र वृद्धवृद्धालाई न्यानो ठाउँमा राख्न एवं झोलिलो तथा तातो खान दिनुपर्छ ।’ कोल्ड डाइरिया, निमोनिया, ज्वरो र रुघाखोकीले सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.पाण्डेले सुझाव दिए ।
त्यस्तै शीतलहर सुरु भएसँगै डिभिजन वन कार्यालय, नेपालगन्जले दाउरा वितरण सुरु गरेको छ । नेपालगन्ज नगरका प्रत्येक परिवारलाई प्रतिकिलो सात रुपैयाँका दरले एक क्विन्टल दाउरा प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा दाउरा वितरण गरिरहेको उनले बताए ।
सत्यपाटी ।