बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गायत्रीनगरमा रहेका १४ घरगोठमा डोजर चलाइएको छ । आदर्श मावि, राँझाको जग्गामा बनाइएको भन्दै ती घरहरु भत्काइएको हो । वडा कार्यालय र विद्यालयको पहलमा शुक्रबार बल प्रयोग गरेर १२ वटा घर र दुई वटा गोठमा डोजर चलाइएको हो ।
गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी र भूमिहीनका नाममा ७६ घरपरिवारले कब्जा गरी घरटहरा बनाएको स्कूलले दावी गर्दै आएको छ । स्कूल र त्यहाँ बसेका बासीन्दाबीचमा लामो समयदेखि विवाद, मुद्दा मामला चलिरहेको छ । स्कूलले हेलो सरकारमा उजुरी गरेपछि गृह मन्त्रालय हुँदै स्थानीय प्रशासनले अतिक्रमण हटाउने आदेश दिएपछि शुक्रबार केही घरहरु हटाएको वडाध्यक्ष कृष्ण कार्कीले बताए ।
कार्कीका अनुसार, कहीँ पनि जग्गा नभएको कागज गर्न भन्दै त्यहाँ बसेकालाई फाराम दिँदा ७० जनाले लगेका थिए । त्यसमध्ये ३१ जनाले फाराम भरेर बुझाए । २२ जनालाई नालापारी सिफ्ट गरिएको छ । अब केही घरलाई पल्लो नाला किनारमा सार्ने वडा कार्यालयले तयारी गरेको छ । शुक्रबार डोजर चलाइएका घरहरु खाली रहेको वडा कार्यालयले दावी गरेको छ । यद्यपी कतिपय घरमा मानिस थिए ।
एक महिलाले घरबाट निस्किन नमानेपछि नेपालगन्जबाट महिला प्रहरी पठाएर निकालिएको थियो । विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले गायत्रीनगरको जग्गा २०३६ सालमा विद्यालयको नाममा रहेको जानकारी दिए । करिब १० वर्षदेखि विद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई बारम्बार हट्न आग्रह गर्दा पनि अटेरी गरि बसोबास गर्दै आएको आचार्यको भनाई थियो ।
सुकुम्बासीको नाममा गैरसुकुम्बासीले विद्यालयको जग्गा कव्जा गरेको आचार्यको दावी थियो । राज्यले जवरजस्ती बस्ती हटाए पनि आफूहरुले बस्ती नछोड्ने स्थानीयले दावी गरेका छन् । बस्तीबाट घर हटाए पनि ज्यानलाई त्रिपालमुनि भए पनि जोगाउने स्थानीय शिवलाल शर्माले बताए ।
सत्यपाटी ।