सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज कारागारकी चौकीदार ललिता अनुसन्धानको दायरामा

बाँके । नेपालगन्ज कारागार प्रशासनले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानविन थालेको छ । कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि छानविन थालेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए ।

कारागारमा रहेका महिला बन्दीहरूले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली बोल्दै दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएको लगायतका आरोप लगाउँदै शुक्रबार आन्दोलन नै गरेपछि चौकीदार रेग्मीमाथि अनुसन्धान थालनी गरिएको कारागारका निमित्त जेलर पौडेलले बताए ।

शुक्रबार विहानैदेखि आन्दोलित कारागारका महिलाहरू बन्दीले चौकीदार फेरबदल गर्नुपर्ने लगायतका माग गरेका थिए । दिनभरजसो तानवमा रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार रेग्मीमाथि अनुसन्धान गर्ने वचन दिएपछि आन्दोलन रोकिएको थियो । निमित्त जेलर पौडेलका चौकीदार रेग्मीमाथि छानबीन भइरहेको छ ।

कारागारमा फेरि अप्रिय घटना नहोस् भने शुक्रबार आन्दोलनमा धेरै भूमिका खेल्ने महिला बन्दी भगवती राना र प्रेमा चन्दलाई बाँकेबाट अन्यत्र सरूवा गरिएको छ । निमित्त जेलर पौडेलका अनुसार महिला बन्दी रानालाई नवलपरासी र चन्दलाई पाल्पा सरूवा गरी शुक्रबार साँझ नै पठाइसकिएको छ ।

गत कात्तिक १४ गते पुरूष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरूवा भएपछि कारागार जेलरविहीन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताए । तर, श्रेष्ठ भने हालसम्म पनि बाँकेमा आएका छैनन् ।

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार ११:१४