सूचनाको शक्ति - The Power Of Information

        

नगरबस ठेक्कामा दिँदै उपमहानगर

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले तीन करोड रुपैयाँमा सात वटा नगर बस किनेर तामझामका उद्घाटन गरेर चलाउन सुरु गर्यो । मापदण्ड बनाएर चालक भर्ना गर्यो । महिला चालक र सहचालक राखेर नगर बस गुडाउने नेपालगन्ज उपमहानगरपालिकाको योजना केही महिनामै भताभुङ्ग भएको छ ।

‘गाउँ नगर साझेदारी कार्यक्रम’मा सरकारले दिएको ५ करोडमध्येबाट तीन करोड खर्च गरेर बस खरिद गरिएको थियो । समावेशी र लक्षित समूहमा लगानी गर्ने कार्यक्रम रहेकाले बसको आम्दानी पनि त्यही कोषमा राख्ने नीति बनाइएको थियो । तर उपमहानगरपालिका केही महिनामै नगर बस चलाउने निर्णयबाट पछि हटेको छ ।

आफैले चलाउँदा बसबाट धेरै फाइदा नहुने देखिएपछि उपमहानगर पछि हटेको हो । कात्तिक महिनाको हिसाब हेर्दा आम्दानी र खर्च बराबरी नै रहेको उपमहानगरले जनाएको छ । ‘कमाई राम्रो देखिएन । आम्दानी र खर्च उस्तैउस्तै देखियो । उपमहानगरपालिकाका कर्मचारी धेरै परिचालन हुनुपर्यो,’ उपमहानगरपालिका स्रोतले भन्यो, ‘त्योभन्दा त ठेक्का दिन राम्रो हुने निष्कर्ष निकालियो ।’

उपमहानगरपालिकाले नगर बससँगै नेपालगन्ज बसपार्कको पनि टेण्डर निकालेको छ । बिहीबार अन्तिम दिन टेण्डर खोलिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेलले टेण्डर खोलिए पनि मूल्यांकन समितिले निर्णय गर्न बाँकी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १२:२८