सूचनाको शक्ति - The Power Of Information

        

कतै वर्षा, कतै हिमपात, तराईमा हुस्सु

बाँके । देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ । अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी भूभाग लगायत पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावले बाँकेसहित देशभर चिसो बढेको छ ।

तापक्रम घटेसँगै देशभर अत्याधिक चिसो महसुश गरिएको छ । पश्चिम तराईका जिल्लामा एक्कासी चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ ।

चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् । तराईका भू–भागमा बुधवार भन्दा बिहीवार मौसममा क्रमिक सुधार हुदैँ गएपनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०८:०९