सूचनाको शक्ति - The Power Of Information

        

धनगढी विमानस्थल तीन हप्ता आंशिक बन्द गरिँदै 

कैलाली । एक महिनादेखि आशिंक बन्द रहेको धनगढी विमानस्थल फेरि पनि २१ दिन आंशिकरुपमा बन्द हुने भएको छ । निर्माण कार्यका लागि एक महिनादेखि आंशिकरुपमा बन्द रहेको सो विमानस्थल निर्माण कार्य समयमै नसकिएपछि तीन हप्ताका लागि फेरि आंशिक बन्द गरिन लागेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

लामो समय आंशिक बन्द रहेको विमानस्थल पुस १ गतेबाट पूर्णरुपमा सञ्चालनमा आउने भनेपछि विमान कम्पनीहरुले धनगढीबाट हुने नियमित हवाई उडानका लागि तयारी गरेका थिए । विमानस्थल प्रमुख बुढथापाले मंगलबारबाटै विमान पूर्णरुपमा सञ्चालनमा आउने भनिएको भए पनि थप २१ दिनको लागि आशिंक रुपमा बन्द गर्ने निर्णय केन्द्रबाटै भएको बताए ।

काम नसकिएका कारण पुनःआंशिक बन्द गर्नुपरेको भन्दै बुढथापाले रनवेको दुई–दुई मिटर दायाँ र बायाँको काम बाँकी रहेको बताए । उनले अब तीन हप्तापछि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने बताए । विमानस्थल २१ दिनका लागि दिउँसो ३ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ ।

झण्डै २२ करोड लागतमा धावनमार्गमा थप कालोपत्रे गरिनेछ भने दुवैतर्फ दुई–दुई मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ । यस्तै अहिले तीन वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्किङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ । यसअघि जेठमा पनि विमानस्थल मर्मत सम्भार र स्तरबृद्धिका लागि भन्दै एक महिना बन्द गरिएको थियो । पटक पटक विमानस्थल आंशिक बन्द हुँदा केन्द्रसँगको आवतजावतमा समस्या भइरहेको भन्दै सर्वसाधारणहरुले गुनासो गरेका छन् । उनीहरुले समयमै काम सक्न विमानस्थलका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०९:३३