सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति जोगाउन खेलकुद

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा थारु संस्कृति जोगाउन खेलकुद हुने भएको छ । थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा कैलालीको हसुलियामा दोस्रो थारु सांस्कृतिक प्रदर्शनी हुने भएको छ । मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने जनाइएको छ ।

माघी पर्वको अवसरमा कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी युथक्लब धनगढी र हिमशिखर क्लब हसुलियाले दोस्रो पटक दुई दिने थारु सांस्कृतिक प्रदर्शनी गर्न लागेको हो । पत्रकार सम्मेलनमा मूलआयोजक समितिका संयोजक पञ्चराम चौधरीले ३३ लाख ८४ हजार ३०० को लागतमा कार्यक्रम आयोजना गरिन लागेको बताए । सांस्कृतिक प्रदर्शनीसँगै फुटबल पेनाल्टी सुट आउटको कार्यक्रम समेत गरिने उनको भनाई छ ।

कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुङ्ग्रहुवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, रानाथारु र कठरिया थारुहोरी नाचलगायतका सांस्कृतिक कार्यक्रम रहने उनले जानकारी दिए । कार्यक्रममा ५० वटा सांस्कृतिक टोलीको सहभागिता रहनेछ । यसैगरी, पेनाल्टी सुटआउट टोली अन्तर्गत ३५ वर्ष भन्दामाथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्ष भन्दामुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहने जनाएको छ ।

फुटबल पेनाल्टी सुट आउटमा ३५ वर्ष भन्दामाथिउमेर (भेट्रान) समूहमा प्रथम हुने टिमलाई नगद एक लाख ११ हजार १११ रुपैयाँ, उपविजेता टिमलाई ५५ हजार ५११ रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पाँच–पाँच हजार पुरस्कार प्रदान गर्ने गरिनेछ । यस्तै ३५ वर्ष भन्दामुनि पेनाल्टी सुट आउटमा प्रथम हुने टिमलाई नगद एक लाख १ हजार १११ रुपैयाँ, उपविजेता टिमलाई ५१ हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पाँच–पाँच हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । महिला समूहअन्तरगत पेनाल्टी सुट आउटमा प्रथम हुने टिमलाई नगद ५१ हजार, उपविजेता टिमलाई २५ हजार ५०० रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई दुई हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने छ । कार्यक्रम अन्तरगत १५ हजार मिटर खुल्ला दौड प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०९:१६