वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले महाअभियोगको घेरामा छन् । तल्लो सदनको न्यायीक समितिले ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेसँगै सो प्रस्तावमाथि अब तल्लो सदनमा मतदान हुने तयारी छ । तल्लो सदनको नेतृत्व गरेकी छन् डेमोक्र्या्टिक नेतृ न्यान्सी पेलोसीले । उनी सभामुख हुन् ।
उनकै नेतृत्वमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएर महाअभियोग प्रस्ताव तयार भएको हो । महाअभियोगको घेरामा रहेका राष्ट्रपति ट्रम्पले पेलोसीलाई पत्र लेखेर उनको निन्दा गरेका छन् । अति आक्रोशित रुपमा लेखिएको सो पत्रमा ट्रम्पले न्यान्सी पेलोसीमाथि गम्भीर आरोप लगाएका छन् ।
पेलोसीले अमेरिकी प्रजातन्त्रमाथि खुला युद्धको अवस्था सिर्जना गरेको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले मंगलबार पठाएको पत्रमा पेलोसीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘तिम्ले अति नै कुरुप शब्द महाअभियोगलाई अति नै सस्तो बनायौ ।’ ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदनमा बुधबार मतदान हुँदैछ ।
व्यक्तिगत राजनीतिक हितका लागि शक्तिको दुरुपायोग गरी युक्रेनमाथि दबाब बनाएको आरोप ट्रम्पमाथि छ । ट्रम्पमाथि महाभियोग लाग्ने अपेक्षा छ, किनकी तल्लो सदनमा डेमोक्र्याटकको बहुमत छ । तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएमा ट्रम्पमाथि औपचारिक रुपमा संसदबाट महाअभियोग लाग्नेछ । त्यसपछि माथिल्लो सदनमा त्यसको सुनुवाई सुरु हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।
ट्रम्पले आफूमाथिको महाअभियोग प्रक्रिया रोकिने आशमा सभामुख पेलोसीलाई ६ पृष्ठ लामो पत्र लेखेका हुन् । ट्रम्पको यो पत्रलाई आफू विरुद्धको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने मनसायको स्पष्ट प्रमाणका रुपमा हेरिएको छ । तर ट्रम्पले भने आफ्नो पत्रको बचाउ गरेका छन् र महाअभियोगको प्रक्रियाको सुरुवात नै संवैधानिक आधारमा नभएको आरोप लगाएका छन् ।
सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ । जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदारमध्ये एक ठानिएको छ ।
सत्यपाटी ।