
बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकामा झण्डै २५ वर्षपछि पहिलो पटक मंसीर महिनामा हिमपात भएको छ । गाँउपालिकाका पाँच वटै वडामा झण्डै तीन फिटसम्म हिउँ जमेपछि यहाँको जनजिवन प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि स्थानीय घरभन्दा बाहीर निस्कन सकेका छैनन् भने पशुचौपाया गोठमा थुनिएका छन् ।
बाक्लो हिउँ जमेकाले एक गाँउबाट अर्कोगाँउ जान नसकिएको साइपाल गाँउपालिकाका स्थानीय बसन्त बोहराले बताए । शुक्रबारदेखि लगातार परेको हिमपातका कारण यहाँका शैक्षिक संस्थाहरु बन्द भएका छन् । विद्यालयमा बाक्लो हिउँ जमेका कारण विद्यालय संचालन गर्न कठिन भएको छ ।

यस्तै धलौन माविका प्राध्यानाध्यापक हिक्मतबहादुर सिंहले चार दिनदेखि लगातार परेको हिमपातका कारण एक ठाँउबाट अर्को ठाँउसम्म जान नसकिएकाले विद्यालयको पठनपाठन बन्द रहेको बताए । तीन दिनसम्म गाँउपालिकामा रहेको दुई वटा मावि, एउटा निमावि, दुई वटा प्रावि र तीन वटा शिशु गरी आठ वटा विद्यालय बन्द भएको उनले बताए । ‘सोमबार विद्यालय खुले पनि विद्यार्थीहरु भने आउन नसकेको उनले बताए ।
उनले भने, ‘स–साना बालबालिकाहरुलाई विद्यालयसम्म पुग्न समस्या भइरहेको छ ।’ यस्तै दुई दिन यहाँका स्वास्थ्य संस्थाहरुसमेत बन्द भएका स्थानीय बासिन्दाले बताएका छन् । मंसीरमा भएको हिमपातबारे आफ्नो अनुभव सुनाउँदै धलौनका ९६ वर्षीया वृद्ध शिद्धु बोहरा भन्छन्, ‘२०५१ सालतिर पहिलो पटक मंसीर महिनामा हिमपात भएको थियो, त्यसको ठिक २५ वर्षपछि यसपटक मंसिरमा हिउँ पर्याे ।’

सधैं पुसको अन्तिम साता तथा माघ महिनामा हिमपात हुने गरेको भए पनि यो वर्ष चाँडो हिमपात भएको उनले सुनाए । बाटोमा बाक्लो हिउँ जमेका कारण एक गाँउबाट अर्को गाँउसम्म जान सक्ने अवस्था नरहेको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । हिमपातका कारण यहाँका सरकारी संघसंस्थाहरु समेत बन्द भएको बताउँदै उनले बाटो खोल्नका लागि गाउँपालिकाले पहल थाल्ने प्रयास गरिरहेको बताए ।
सत्यराज सिंह ।