सूचनाको शक्ति - The Power Of Information

        

क्रिया खर्चको भरपाई पनि कृते !

बझाङ । मष्टा गाउँपालिकामा जीप दुर्घटना भएर ज्यान गुमाएका १० जनाको परिवारलाई क्रिया खर्च दिएको भनेर कृते हस्ताक्षर गरिएको पाइएको छ । दुर्घटनामा परि ज्यान गुमाएकी विपना खड्काका बुवा मनोजले आफ्नो नाममा कृते गरेर रकम बुझेर खाएको पाइएको छ ।

उनले भने, ‘म बैसाखमा भारत गएको हुँ, घर आएको आठ दिनमात्रै भयो । मेरो नाममा हस्ताक्षर गरेर जनही ५० हजार रुपैयाँ बुझिलिएका भरपाई गरिएको मिसिल जिल्ला प्रहरी कार्यालयमा रहेको छ । गाउँपालिकाबाट समग्रमा ५० हजार रुपैयाँ क्रियाखर्च दिएको भन्ने सुनेको थिए । बुझिलिएकोमा मेरो हस्ताक्षर र ल्याप्चे (औठा छाँप) लगाएको जिल्ला प्रहरी कार्यालयको मिसिलमा फेला पार्यौ । हामी मुद्दा दिँदैछौं ।’

सोही ठाउँका राकेश खड्काले भने, ‘गाउँपालिकाले क्रियाखर्च समग्रमा ५० हजार रुपैयाँ दिएको बेला सेतो कागजमा हस्ताक्षर गरेको हुँ । जनही ५० हजार दिएको भनेर भरपाई गरेको कागजमा मैले हस्ताक्षर गरेको पनि छैन, पैसा पनि पाएको छैन ।’ गाउँपालिकाले अन्य ६ जना मृतकका आफन्तको नाममा पनि नक्कली हस्ताक्षर र औठा छाप लगाएर भरपाई गरिएको छ ।

अधिवक्ता मोहनराज उपाध्यायले भने, ‘आफुले लिखित भरपाई मात्र लेखिदिएको हुँ हस्ताक्षर र औठाँ छाप लगाउँदा म थिएन ।’ गाडी मालीक पुन्या थापाले भने, ‘मैले पैसा पनि दिएको छैन, यो कागज बनाउने नवराज खड्का हुन् । उहाँलाई नै सोध्नुहोला । दुर्घटनामा परेको जीपका मालिक भर ४५ बर्षिय पुन्या थापाबाट क्रिया खर्च लिएर २०७६ भदौ ४ गते भरपाई गरिएको छ । गत असार महिनामा डुग्रीदेखि मष्टा गाउँपालिकातर्फ गैरहेको से १ ज १०७२ नम्बरको जीप मष्टा–१ को अनाडौठीमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १७:१८