सूचनाको शक्ति - The Power Of Information

        

बेलायती संसदमा कन्जरभेटिभको बिशाल बहुमत, इयूबाट बाहिरिने पक्का

लन्डन । बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ । शुक्रबार अपरान्हसम्म अधिकांश स्थानको मतगणना भइसकेको छ । बेलायती प्रसारण संस्था (बिबिसी)का अनुसार चुनाव भएका ६४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको छ ।

उसले अझै केही सिट जित्ने बताइएको छ । बहुमतका लागि ३२६ सिट भए पुग्छ । अक्टोबर ३१ सम्म बेलायतलाई युरोपियन युनियन इयूबाट बाहिर निकाल्ने वाचा गरेर प्रधानमन्त्री बनेका जोन्सनले उक्त योजनामा सफलता नपाएपछि चुनाव घोषणा गरेका थिए । चुनावबाट कन्जरभेटिभ पार्टीलाई ३२ वर्षमै सबैभन्दा बढी सिट हात परेको छ ।

सन् १९८७ मा मार्गेट थ्याचर प्रधानमन्त्री भएपछि कन्जरभेटिभ पार्टीले तल्लो सदनमा यति धेरै सिट जितेको थिएन । प्रतिपक्षी लेबर पार्टीले भने २०३ सिटमात्र हात पारेको छ । आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि हार व्यहोरेको लेबर पार्टीले यसपालि ८५ वर्षकै सबैभन्दा कम सिट पाएको हो । आफ्नो पक्षमा स्पष्ट बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले बेलायतलाई इयूबाट बाहिरिने स्पष्ट जनादेश प्राप्त भएको बताए ।

उनले अर्को महिना बेलायत इयूबाट बाहिरिने बताए । प्रधानमन्त्री हुनुअघिदेखि नै जोन्सनको प्रशंसा गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जितका लागि जोन्सनलाई बधाई दिएका छन् । उनले बेलायत इयूबाट बाहिरिएसँगै अमेरिका र बेलायत नयाँ व्यापार सम्झौता गर्न स्वतन्त्र हुने बताएका छन् ।

‘इयूमा हुँदा गरिने सम्झौताभन्दा यो सम्झौता निकै ठूलो र फाइदाजनक हुनेछ,’ ट्रम्पले भनेका छन् । बेलायतमा इयूबाट बाहिरिनेबारे सन् २०१६ मा जनमत संग्रह भएको थियो । त्यसपछि ब्रेजिक्ट पक्षधर कन्जरभेटिभ पार्टी सत्तामा आए पनि संसदमा स्पष्ट बहुमत ब्रेजिक्टमा अवरोध भएको थियो । एजेन्सी

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १३:५३