सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम : उच्च हिमाली क्षेत्रमा हिमपात, ताल तथा खोलाको पानी जम्यो

फाइल तस्वीर

डोटी/जाजरकोट/मुस्ताङ । बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए ।

उनले भने, ‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले बस्तुभाउ गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।’ हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिए । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ ।

अअज विहानैदेखि देशका अधिकांश क्षेत्रमा झरी भइरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएका छन् ।

जम्यो खोला तथा तालको पानी 

यसैबीच, चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।

उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ । यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ ।

तालमा पानी जमेको हेर्नेको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् ।

उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् । गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ ।

स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ ।

परीक्षा प्रभावित

यस्तै, हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए ।

विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् । त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ ।

चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १३:०७