सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालयको परिपत्रपछि विद्यालयको जग्गा खाली गराउने सर्वदलीय निर्णय

आदर्श माविको जग्गा अतिक्रमण प्रकरण

यसअघि विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा । फाइल तस्वीर

विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा ।

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । विद्यालयको नाममा लालपूर्जा रहेको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह सात कठ्ठा १४ धुर जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई परिपत्र गरेको हो ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमित भएपछि विद्यालयका नियमित गतिविधि सञ्चालनमा समस्या भएको भन्दै विद्यालयले गृह मन्त्रालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि परिपत्र गरेको छ । सुकुम्बासीका नाममा बसेका केही व्यक्तिहरुले अटेरी गर्दै विद्यालयले जग्गा खाली गर्न नदिएपछि पटक पटक विवाद हुँदै आएको छ ।

गृह मन्त्रालयले जग्गा खाली गर्न आवश्यक कारबाहीका लागि परिपत्र गरेपछि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर अतिक्रमित जग्गा १५ दिनभित्र खाली गराउने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले अतिक्रमित जग्गामा बनाइएका खाली घर र भाडाका घर ७ दिनमा र अन्य घरहरु १५ दिनमा खाली गराउने निर्णय गरेको नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरिरहेका व्यक्तिहरुले अतिक्रमित जग्गा छोड्न अटेरी गरेपछि विद्यालयले गृहमन्त्रालयको परिपत्रसहित जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठकमार्फत जग्गा खाली गर्न पुनः १५ दिनको म्याद दिएको छ । तोकिएको अवधिभित्र पनि जग्गा खाली नगरेमा प्रचलित कानून बमोजिम विद्यालयले कारबाही अघि बढाउने भएको छ ।

सुकुम्बासीका नाममा केही व्यक्तिहरुले घर टहरा बनाई जग्गा अतिक्रमण गरेर बसेका कारण विद्यालयको भौतिक एवं सर्वपक्षीय विकासमा समस्या पैदा भएको प्रधानाध्यापक प्रकाश आचार्यले बताए । प्रधानाध्यापक प्रकाश आचार्य भने, ‘हामीले जग्गा खाली गर्न पटक पटक सूचना जारी गरिरहेका छौं, तै पनि अटेरी भइरहेको छ ।’

यसअघि कैयौपटक विद्यालयका पदाधिकारीहरु आफ्नो जग्गा खाली गर्न आग्रह गरे पनि सुकुम्बासीहरुले अस्वीकार गर्दै आएका थिए । विद्यालयको नाममा लालपूर्जा भए पनि सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिहरुले छोड्न नमानेको प्रधानाध्यापक आचार्यले बताए । यसअघि विद्यालय व्यवस्थापन समितिको कात्तिक २० गते बसेको बैठकले ३० दिने सूचना जारी अतिक्रमित जग्गा खाली गर्न आग्रहसमेत गरेको थियो ।

विद्यालयको गयनपुरमा रहेको कित्ता नं. ४५ को एक विवाह ११ कठ्ठा र ४९ नम्बर कित्ताको १२ कठ्ठा १५ धुर जग्गा अहिले पनि अतिक्रमणमै परेको छ । २०७१ सालको सर्वेक्षणअनुसार विद्यालयको जग्गामा ७१ घरधुरी रहेका छन् । तीमध्ये १७ घरधुरीलाई गत बर्ष वडा कार्यालयको पहलमा अन्यत्रै स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका १७ घरधुरीले समेत हालसम्म अतिक्रमित जग्गा छाड्न नमानेको प्रअ आचार्यको भनाई छ ।

उनीहरुसँग जग्गाको कुनै प्रमाण नभए पनि अतिक्रमण हटाउन नसकिएको प्रअ आचार्यले बताए । २००९ सालमा घरगोठबाट शुरु भएको विद्यालयले २०१६ सालमा स्वीकृति पाएको थियो । विद्यालय बनाउन अहम् भूमिका खेल्नुभएका राममिलन बर्माले नै गाउँ पञ्चायत अध्यक्ष हुँदा २०३६ सालमा उक्त ऐलानी जग्गा विद्यालयलाई दिएका थियो । त्योसहित विद्यालयको नाममा नौ विगाह १८ कठ्ठा ५ धुर जग्गा दर्ता छ ।

विद्यालयको मुख्य भवन राँझा चोकमै छ । त्यहाँ साँघुरो भएपछि केही संरचना २०४४ सालमा गायत्रीनगरमा बनाइएको थियो । २०५० सालमा ती संरचना चोरी भए । त्यसपछि विद्यालय पुरै चोककै भवनमा सीमित रह्यो । द्वन्द्वकालमा विभिन्न ठाउँबाट आएका मानिसहरु खाली जग्गा देखेर त्यही बस्न थाले । बाँकेकै पुरानो विद्यालयमा पर्ने आदर्श माविले मल्टिपल क्याम्पसको अवधारणा अघि सारेको छ । जग्गाजति सुकुम्बासीले अतिक्रमण गरेपछि सफल हुन नसकेको प्रधानाध्यापक आचार्यको भनाई छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०९:४८