सूचनाको शक्ति - The Power Of Information

        

माल्दिभ्स भलिबल लिगमा प्रतिभालाई अवसर

काठमाडौं । नेपालकी नम्बर एक महिला भलिबल खेलाडी प्रतिभा मालीले माल्दिभ्समा भलिबल लिग खेल्ने भएकी छन् । प्रतिभा माल्दिभ्सको पुलिस क्लबबाट लिग खेल्न बिहिबारनै माल्दिभ्स प्रस्थान गरेकी छन् ।

उनलाई माल्दिभ्सको अन्य तीन क्लबबाट खेल्ने प्रस्ताव आए पनि त्यहाँको पुलिस क्लब उनको रोजाईमा परेको हो । न्यु डायमन्डबाट घरेलु प्रतियोगिता खेल्दै आएकी प्रतिभाले माल्दिभ्स राष्ट्रिय टोलीकी कप्तान जुझानको विशेष अनुरोधमा त्यहाँको पुलिस क्लबबाट लिग खेल्न लागेको जानकारी न्यु डायमन्डका प्रशिक्षक कुमार राईले बताए ।

नेपाली राष्ट्रिय टोलीकी अलरान्डर प्रतिभाको उत्कृष्ट प्रदर्शनमा नेपालले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक रजत जितेको थियो । स्वर्णको लागि भएको फाइनल भिडन्तमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । प्रतिभाले माल्दिभ्समा लिग खेल्दा २५ सय अमेरिकी डलर पाउने बताइएको छ । उनले यसअघि पनि दुई पटक माल्दिभ्सको लिग खेलिसकेकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०८:४६