बाँके । साउथका भगवान भनिने रजनीकान्तले बिहीबार आफ्नो ६९ औं जन्मदिन मनाएका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसकबीच ‘थलाइवा’ नामले पनि चर्चित छन् । बाल्यकालमा अत्यधिक गरिबी भोगेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड थियो ।
रजनीकान्त जब पाँच वर्षका थिए तब उनको आमाको निधन भएको थियो । आमाको निधनपछि परिवारको सबै जिम्मेवारी उनको काँधमा पर्यो । त्यसपछि उनले कहिले कुल्लीको काम गरे त कहिले कन्डक्टर बने । पछि जागिर खाएर पनि परिवारको जिम्मेवारी उठाए । रजनीकान्तले ‘अपूर्वा रागनगाल’ बाट तमिल फिल्म इन्डष्ट्रिमा प्रवेश गरेका थिए । उक्त फिल्ममा उनीसँगै कमल हासन र श्रीविद्या पनि थिए ।
कन्नड नाटकमार्फत् आफ्नो करियरको सुरुवात गर्ने राजनीकान्तले सायदै सोचेका थिए कि उनी यति धेरै लोकप्रिय हुनेछन् र जनताले उनलाई ‘साउथको भगवान’ र ‘थलाइवा’ जस्तो उपनाम दिनेछन् । थुप्रै नेगेटिभ भूमिका निभाएपछि अन्त्यमा रजनीकान्तले नायकको रुपमा काम गर्ने मौका पाए । उनले एसपी मुथुरमनको फिल्म ‘भुवन ओरु केल्विकुरी’ मा मुख्य भूमिका अर्थात् हिरोको भूमिका पाए ।
त्यसपछि मुथुरमन र रजनीकान्तको जोडी यस्तो जम्यो कि यी दुईले सँगै २५ वटा फिल्ममा काम गरे । आफ्नो दमदार अभिनयका साथै रजनीकान्त आफ्नो भिन्न स्टाइलका लागि पनि मानिसहरुबीच निकै रुचाइन्छन् । सिग्नेचर वकका साथै सिगरेट फ्लिप गर्ने उनको अन्दाज उनका प्रशंसकबीच निकै लोकप्रिय छ । विशेषगरी साउथमा उनको यो अचम्मको अन्दाजलाई निकै रुचाइन्छ । कतिजनाले त उनको यो शैली अनुसरण गर्ने कोसिस पनि गर्छन् । एजेन्सीको सहयोगमा
सत्यपाटी ।