काठमाडौं । हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको बताएपछि चितवनको राप्ती नगरपालिकाका २७ वर्षीय रविकान्त रुवालीसँग विवाह हुने पक्का भयोे ।
दुवै पक्षले रञ्जना र रविकान्तको बिहे गर्न फागुन ३ गतेको लगन जुराए । २०७४ फागुन ३ गते रञ्जना र रविकान्तको बिहे भयो । बिहेलगत्तै घरपरिवारको सल्लाहमा रञ्जना पढ्नका लागि अस्ट्रेलिया लागिन् । अस्ट्रेलिया पुगेपछि रञ्जना र रविकान्तबीच राम्रै कुराकानी भइरहन्थ्यो । पतिपत्नीबीच कुराकानीको क्रम ६ महिनासम्म राम्रैसँग चल्यो ।
त्यसपछि कुराकानी पातलिँदै गयो । रञ्जनाले रवीकान्तलाई आफू कलेजमा व्यस्त हुने भएकाले कुराकानी गर्न समय नमिल्ने गरेको बताउन थालिन् । रविकान्त पनि चितवनमा मोबाइल र सीसीटीभी क्यामराको पसल चलाउँदै आएकाले व्यस्त हुन थाले । रञ्जना पनि कलेजका कारणले व्यस्त भएको हुनसक्ने रविकान्तले अनुमान गरे ।
महिनाको अन्तिम–अन्तिमतिर रञ्जनाले पैसा माग्दै फोन गर्थिन् । रविकान्तले महिनैपिच्छे १८ सय अस्ट्रेलियन डलर पठाउँदै आएका थिए । परिवार स्रोतका अनुसार रविकान्तले ३ वर्षको अवधिमा ५० लाख नेपाली रुपैयाँसम्म पठाइसकेका थिए । पत्नी विदेशमा भएपनि रविकान्तको ससुरालीसँग राम्रै सम्बन्ध थियो ।
सासु–ससुराले आफ्नै छोरासरह माया गर्ने भएकाले रविकान्त निकै खुशी थिए । भदौ महिनामा ससुराको हात भाँचिएपछि रविकान्त हेटौंडा बस्दै आएका थिए । चितवनको पसल रविका भाइले हेर्दै आएका थिए । मंसिरमा दिदीको बिहे हुने भएपछि रञ्जना अस्ट्रेलियाबाट घर फर्किने भइन् तर रञ्जना फर्किनेबारे रविकान्तले सुइँकोसम्म पाएनन् ।
एक वर्षअघि रविका भाइ (रञ्जनाका देवर)को बिहेमा नआएकाले दिदीको बिहेमा पनि नआउने रविकान्तले अनुमान लगाएका थिए । रञ्जनाले फेसबूकमा नेपाल आउने कुरा लेखेपछि मात्रै रविकान्तले उनी बिहेमा आउने कुरा थाहा पाए । रञ्जनाको व्यवहारले उनी खिन्न थिए । पत्नी विदेशबाट आउने भएपछि रवि ससुरालीलाई खबरै नगरी काठमाडौं पुगे रञ्जना ‘रिसिभ’ गर्न ।
रञ्जना काठमाडौं पुग्ने साँझ ८ बजे रवि विमानस्थल गए । रञ्जनालाई रविकान्तले अंकमाल गर्न खोजे तर रवि झसङ्ग भए । रञ्जनाले रविलाई भनिन्, ‘मलाई न छोऊ, यदि छोएमा म पुलिस केश गर्छु ।’ विमानस्थलबाट ट्याक्सीमा बाहिर जाने कुरामा पनि विवाद भयो । रञ्जनाले शर्त राखिन्, यदि मलाई हेटौडा लैजाने भए जान्छु, होइन भने म आफ्नै हिसाबले जान्छु ।
रञ्जनाको शर्त अनुसार रविकान्तले उनलाई ससुरालीमा र्पुयाइदिए । त्यसपछि उनी राती नै चितवन घर फर्किए । मंसिर ४ गते पत्नी रञ्जनाकी दिदीको बिहे भएकाले उनी बिहानै ससुराली पुगे । उनी विवाहमा सहभागी भए तर विवाहमा रञ्जनाले उनीसँग फोटो खिच्न पनि मानिनन् । मंसिर ५ गते बिहे पार्टी थियो, सबै सहभागी थिए । मंसिर ६ गते बिहान रविकी सासुले छोरी रञ्जनालाई घर जान भन्दै सम्झाउन खोजिन् ।
रविले पनि घर लैजान खोजे तर रञ्जना जान मानिनन् । मंसिर १३ गते रञ्जनाले अस्ट्रेलिया फर्कनुपर्ने थियो । पत्नी रञ्जनाले नमानेपछि रवि एक्लै मंसिर ७ गते चितवनको राप्ती नगरपालिका भण्डारास्थित घर फर्किए । घरमा आमा बिमलाले सोधिन्, ‘बुहारी किन नआएको ?’ रविले कुरा लुकाउँदै भोलिपर्सी आउने जानकारी दिए ।
रवि मंसिर ९ गते फेरि ससुराली गए तर रञ्जना अझै घर जान मानिनन् । त्यसपछि दुवैबीच झगडा भयो । रवि त्यहीँ राति फेरि एक्लै घर फर्किए । अर्को दिन बिहान साढे ३ बजे रवि घरनजिकै सडकमा पल्टिरहेको अवस्थामा भेटिए । रविलाई भरतपुर अस्पतालमा भर्ना गरियो । रविले विष सेवन गरेकोबारे अस्पतालमा लगेपछि आमा बिमला र बुवा चन्द्र रुवालीले थाहा पाए । उपचारको क्रममा रविको मृत्यु भयो ।
रञ्जनाको दुर्व्यवहारका कारण रविको मृत्यु भएको भन्दै बुवा चन्द्रले रञ्जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा उजुरी दिए । ‘रञ्जनाविरुद्ध रविका आफन्तले जाहेरी दिएपछि हामीले पक्राउ गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले भने, ‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं ।’
छोराजस्तै थिए ज्वाइँ !
ससुरालीका हरेक कुरामा रविकान्तले सघाउने गर्थे । दुःखमा पनि साथ दिएका थिए उनले । त्यसैले रवि ज्वाइँलाई छोराजस्तै मान्ने गरेको सासु सिर्जना मैनालीले बताइन् । ‘उहाँ छोराजस्तै हुनुहुन्थ्यो, हामीले २ जनाको झगडा भएको थाहा पाएका थिएनौं । छोरीलाई रिसिभ गर्न काठमाडौं जाँदा के भयो कुन्नी ?’ मैनालीले भनिन् । घटना ठ्याक्कै फिल्मीजस्तो लाग्छ । वैदेशिक रोजगारी र अध्ययन गर्न विदेश जाने क्रम बढ्दै जाँदा त्यसले निम्त्याएको समस्याको यो एउटा रूप हो ।
रञ्जनाको दुर्व्यवहारले आत्महत्या : आमा
रञ्जनाको दुर्व्यवहारले गर्दा छोराले विष सेवन गरेको रविकान्तकी आमा विमला रुवालीले बताइन् । ‘आएदेखि नै छोरासँग बोलचाल बन्द गरेकी थिई रे ! बिहे गरेको लामो समय हुँदा पनि कुराकानी नगर्दा छोराले यस्तो र्गयो,’ आमा रुवालीले भनिन् । हरेक महिना १८ सय अस्ट्रेलियन डलर कजेलमा तिर्नुपर्ने भन्दै रञ्जनाले लगभग ५० लाख रुपैयाँ लगिसकेको बिमलाले बताइन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ । दफामा लेखिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भएमा हुने सजायबारे मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा २ मा लेखिएको छ, ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।’
सत्यपाटी ।