सूचनाको शक्ति - The Power Of Information

        

विश्व आन्दोलन हाँक्ने १६ वर्षे किशोरी, ‘युवा शक्तिको प्रतीक’

‘खोक्रो गफ गरेर तपाईंहरुले मेरो सपना र मेरो बालापन खोस्नुभयो । मानिसहरु दुःख पाइरहेका छन्, उनीहरु मरिरहेका छन् । सम्पूर्ण पर्यावरण ध्वस्त हुँदैछ । हामी आम विनाशको संघारमा छौँ । तर तपाईंहरु खाली पैसा र अन्त्यहीन आर्थिक वृद्धिको परीकथाका बारेमा मात्रै बोल्नुहुन्छ । तपाईंहरुको यत्रो हिम्मत !’

गत सेप्टेम्बरमा न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ‘ग्लोबल क्लाइमेट एक्सन समिट’मा विश्वभरका नेताहरुलाई एक १६ वर्षीया किशोरीले यसरी झपारिन् । सुन्नेहरु जिब्रो टोकिरहेका थिए, यो फुच्चीले यत्रो हिम्मत कसरी जुटाइन् ? तिनै ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनले सन् २०१९ को वर्षव्यक्ति घोषणा गर्यो ।

‘पृथ्वीप्रतिको अस्पष्ट चिन्तालाई विश्वव्यापी आन्दोलनमा बदल्न सफल भएकोमा’ उक्त म्यागेजिनले यी किशोरीलाई यो उपाधि प्रदान गरेको जनाएको छ । सबैभन्दा कम उमेरमा टाइम वर्षव्यक्ति बन्ने व्यक्ति पनि भएकी छन् उनी । टाइमले थनवर्गलाई युवाशक्तिको प्रतीक मानेको छ । ‘विश्वभर नै युवाहरुले सार्वजनिक विचारमा ठूलो प्रभाव पार्ने प्रवृत्ति देखिएको छ । तिनलाई सरकारहरुले पछ्याउँछन्,’ राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेसले सो म्यागेजिनलाई भनेका छन् ।

एक्लो धर्नादेखि विश्वव्यापी आन्दोलनसम्म

सन् २०१८ को अगस्टमा ९ कक्षामा पढ्ने एउटी स्विडिस केटी स्कुल जान छोडेर संसद् भवनअगाडि एक्लै धर्नामा बसिन् । ‘वातावरणका लागि स्कुल हड्ताल’ लेखिएको ब्यानर उनले बोकेकी थिइन् । बाबाआमाले उनलाई स्कुल फर्काउने प्रयास गरे । तर, सफल भएनन् । धर्ना बसेकी उनलाई देख्नेहरुले खिसिट्युरी गरे । तर, ती १५ वर्षीया किशोरीले एउटा विश्वव्यापी आन्दोलन सुरु गरिसकेको कसैलाई थाहा थिएन ।

२० अगस्ट २०१८ मा थनवर्गले स्कुल हड्ताल सुरु गरिन् । उनी हरेक दिन स्कुल जाने समयमा स्टकहोमस्थित संसद् भवनबाहिरको सिँढीमा गएर बस्थिन् । तीन सातासम्म उनको धर्ना जारी रह्यो । कसैले उनको नजिकै लगेर एउटा पोस्टर राखिदिएको थियो, जसमा लेखिएको थियो, ‘ठूला मान्छेहरु मेरो भविष्य बर्बाद गरिरहेका छन्, त्यसैले मैले यो सब गर्नु परिरहेको छ ।’ देशका केही राजनीतिककर्मी र सांसदहरुले उनको मागमा समर्थन जनाएपछि उनी स्कुल जानुपर्ने तिनको मत थियो । तर, उनले मानिनन् ।

उनको एक्लो धर्नाबारे स्वीडेनमा विस्तारै चर्चा हुन थाल्यो । त्यसपछि विश्वका ठुल्ठूला मिडियाले उनीतिर ध्यान दिन थाले । सेप्टेम्बर १० पछि उनी स्कुल जान थालिन्, तर सातामा चार दिन मात्रै । हरेक शुक्रबार संसद् भवनबाहिर गएर उनी धर्ना दिन्थिन् । ‘फ्राइडेज् फर फ्युचर’ भनिएको यो आन्दोलनको नक्कल विश्वभर हुन थाल्यो । उनको यो आन्दोलनपछि विश्वभरका स्कुलमा हड्ताल हुन थाले । डिसेम्बर २०१८ सम्ममा विश्वका दुई सय ७० सहरका २० हजारभन्दा बढी विद्यार्थीले स्कुलमा हड्ताल भइसकेका थिए ।

२०१९ लागेपछि त उनी युरोपभर पुगेर भाषण दिन थालिन् । १५ मार्चमा हालसम्मकै सबैभन्दा ठूलो वातवरणीय प्रदर्शन भयो । गएको सेप्टेम्बरमा उनी १४ दिन लगाएर शून्य उत्सर्जन गर्ने डुंगा चढी आन्ध्र महासागर पार गरेर अमेरिका पुगिन् । त्यहाँ उनले अनेर्कौँ यालीमा भाग लिनुका साथै विश्व नेताहरुको सातो पनि खाइन् । संसारभरका सञ्चारमाध्यममा यो विषय हेडलाइन बन्यो । उनलाई हजारौँले साथ दिए ।

यसै वर्षको नोबेल शान्ति पुरस्कारका लागि समेत उनी मनोनित भएकी थिइन् । एकै वर्षमा थनवर्गको आन्दोलन विश्वव्यापी बन्यो । त्यति मात्र होइन, जलवायु परिवर्तन, वातावरणीय क्षयजस्ता मानव अस्तित्वलाई नै संकटमा पार्ने यो विषयबारे पहिलो पटक यति धेरै मानिसले जानकारी पाए । यससँगै वातावरण विश्व राजनीतिको प्रमुख मुद्दा मात्रै बनेको छैन, भविष्यप्रति चासो राख्ने युवाहरुको चिन्ताको विषय पनि बनेको छ ।


को हुन् ग्रेटा थनवर्ग ?

थनवर्ग अरु केटाकेटीजस्ती थिइनन् । चार वर्षअघि थनवर्गलाई एस्पर्जर्स सिन्ड्रोम भएको पत्ता लाग्यो । उनकी बहिनीलाई पनि यस्तै समस्या छ । ‘म हरेक कुरा बढी सोच्छु । कुनै पनि विषयमा नसोची बस्नै सक्दिनँ । बिर्सिन सक्दिनँ,’ उनले भनेकी छन् । यो बानीले उनलाई डिप्रेसनमा पनि र्पुयायो । तर, यसलाई उनले आफ्नो कमजोरीका रुपमा होइन, प्रेरक शक्तिका उपयोग गरिन् । यो रोगका कारण आफूमा भएको एकोहोरोपनलाई उनले वातावरणीय चिन्तामा बदलिदिएकी छन् ।

कतिपय अवस्थामा यसले समस्या पनि निम्त्याएको छ । उनले ढिपी गरेरै आफ्नी आमालाई हवाई यात्रा नगर्ने वाचा गराइन् । उनकी आमा मलिना अर्नम्यान स्वीडेनकी सबैभन्दा चर्चित ओपेरा गायिकामध्ये एक हुन् । उनका बुबा स्वान्ते थनवर्ग, जो अभिनेता हुन्, शाकाहारी बने । ‘मेरा सबै तर्क सकिए,’ उनका बुबा भन्छन्, ‘हामीलाई मनाउन उनले जोड लगाइरहिन् । अन्ततः परवर्तन गराएरै छोडिन् ।’ अटिजमका कारण घण्टौँ एउटै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता उनीसँग छ ।

आफूले चाहेको विषयमा उनी वर्षौँ लागिपर्न सक्छिन् । त्यसैले उनले मासु खान छोडिन् । नभई नहुनेबाहेक अन्य चीजबीज किन्न छोडिदिइन् । २०१५ देखि उनले हवाईजहाजमा यात्रा गर्न पनि छोडिदिइन् । अहिले उनको परिवार सौर्य उर्जा मात्र प्रयोग गर्छ । साइकल चढ्छ । डाभोसदेखि न्युयोर्कसम्म पुगेर जलवायु परिवर्तनका विषयमा केही गर्न नसकेको भन्दै विश्वका सम्भ्रान्तहरुलाई धिक्कारिसकेपछि कतिपयले थनवर्गको आलोचना पनि गर्न थालेका छन् । आर्थिक वृद्धि गर्ने, समृद्धि ल्याउने नेताहरुको वाचालाई उनी बकवास भन्छिन् ।

मुलुकहरुले कार्बन उत्सर्जन थोरैले मात्र घटाउन गरेको वाचा पर्याप्त नभएको उनको भनाइ छ । वातावरणप्रतिको उनको चिन्ता अतिवादी भएको तर्क पनि सुनिन्छ । तर, संसारको हरेक कुनामा चरम उपभोक्तावादी संस्कृति हावी भएको बेला अर्को पुस्ताका लागि पृथ्वी नै रहला कि नरहला भन्ने चिन्ता गर्नु मात्रै पनि महानता हो । त्यसमाथि, आफ्नो स्पष्टता, निडरता र सकारात्मक सोचका कारण उनी यो घोर निराशाको समयमा आशाको दीप बनेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १५:२१