
कैलाली । पछिल्लो समय देशभर नै मानसिक रोगीहरुको संख्या बढ्न थालेको एक तथ्यांकले देखाएको छ । बिभिन्न गाउँ र ठाउँमा गएर गरिएको एक सर्वेक्षणबाट सुदूरपश्चिममा पनि अहिले २० देखि २५ प्रतिशत मानिसहरु मानसिक रोगी भएको बताइएको छ । सरकारले पनि यस रोगलाई प्रमुख २० वटा रोगमा १६ औं स्थानमा राखेको छ । यो समस्या बर्षेनी बढ्दै जाने मनोचिकित्सकहरु बताउँछन् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका अनुसार अधिकांश मानिसहरु घरायसी तनावका कारण मानसिक रोगको शिकार बन्ने गरेका छन् । यसरी घरायसी कारण मानसिक रोगी बन्नेहरुमा महिलाहरुको संख्या बढि देखिन्छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका विष्णु प्रजापतिले पुरुषहरु आफ्ना समस्या र पीडा बाहिर अन्य ब्यक्तिहरुसँग बाँड्ने तर महिलाहरु मनभित्रै पीडा गुम्साएर राख्ने भएकोले उनीहरुमा यसको बढि समस्या देखिएको बताए ।
उनी भन्छन्, ‘पुरुषहरु घरमा श्रीमतीसँग झगडा हुँदा साथीहरुसँग कुरा राख्छन् । श्रीमतीलाई पिटेर गाली गरेर सन्तुष्ट भएको देखाउँछन् । तर, महिलाहरु रोएर बस्छन् । पिडा मनभित्रै गुम्स्याएर राख्छन् । जसका कारण उनीहरु डिप्रेशनमा पर्ने गर्छन् ।’ मनका कुराहरु नभन्नेहरु बढिजसो मानसिक रोगको शिकार बन्ने गरेको पनि उनले बताए । धेरै जनमानसमा यसको कुनै उपचार नै छैन भन्ने मानसिकता परेको उनले बताए । जसका कारण ब्यक्तिहरु सामान्य मानसिक समस्या भएका बेला उपचार गर्न जाँदैनन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका विष्णु प्रजापति ।
कतिपयले कडा खालको मानसिक रोग देखिँदा पनि विरामीलाई परिवारले घरमै बाँधेर राख्ने गरेको पनि उनले बताए । तर, मानसिक रोगको उपचार हुने भएकोले विरामीलाई उपचारका लागि लग्नुपर्ने उनको भनाइ छ । ‘अहिले दिक्दारीपन र चिन्ताका विरामीहरु बढि छन्’ प्रजापतीले भने, ‘यसको समयमै उपचार हुन सकेन भने मानिसहरु मानिसहरुलाई यस रोगले च्याप्दै लग्छ । जसका कारण धेरै ब्यक्तिहरु आत्महत्या सम्म पुग्ने गरेका छन् ।’
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका प्रजापतिले पछिल्लो समय आत्महत्या गरेका ब्यक्तिमा ९० प्रतिशत मानसिक रोगी नै हुने गरेको बताए । बेलैमा यसको उपचार हुन सके मानिसको ज्यान जोगाउन सकिने उनको भनाइ छ । धेरैजसो मानसिक रोगीहरु उपचारमा नआउने गरेका कारण पनि उनीहरुको संख्या न्यून देखिने गरेको बिचार उनले ब्यक्त गरे । केहि ब्यक्ति मात्रै उपचारसम्म पुग्ने गरेको जानकारी उनले दिए । केहि हानीकारक केमिकलका कारण, केहि सामाजिक कारण त केहि मनोवैज्ञानिक कारण पनि यस रोगको शिकार बन्ने गरेको उनले बताए ।
यस्ता रोगीलाई निको पार्नका लागि उपचार औषधि सँगसँगै परिवारको न्यानो मायाप्रेमले पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको प्रजापतीले बताए । ‘औषधिको साथसाथै बिरामीको भावनालाई बुझेर सहयोगी ब्यवहार गरिदिएमा रोग चाँडै ठिक हुन मद्यत पुग्दछ,’ उनले भने । मानसिक रोगको समस्या बालवालिकामा पनि धेरै देखिन थालेको विद्यालय मनोचिकित्सक मधु खनाल बताउँछन् । उनी विशेषगरि किशोरावस्थाका वालवालिकाहरु अभिभावक र विद्यालयका शिक्षकहरुको कडा स्वभावबाट बढि प्रभावित हुने गरेको बताउँछन् ।
‘सानै उमेरबाट हो बालवालिकाको मनमष्तिस्क परिपक्क हुँदै जाने । यही बेला उनीहरुले बालमैत्री वातावरण पाएनन् भने समस्या देखिन थाल्छ,’ खनालले भने, ‘बाल्यकालमा बालवालिकालाई अनुकुल वातावरण बनाइनुपर्छ । मनमा चोट पर्ने कुराहरु भन्नुहुँदैन ।’ बालवालिकाहरु मानसिक रोगी नबनुन भन्नका लागि घरमा र बिद्यालयमा वालमैत्री वातावरण हुनुपर्ने आवश्यक उनले औल्याए । भौतिक रुपमा मात्रै नभएर वालवालिकालाई मानसिक रुपमा वालमैत्री वातावरण उपलब्ध गराइनुपर्नेमा उनको जोड छ ।
अभिभावकहरुले आफ्ना बालवालिहरुलाई पढाई अथवा अन्य कुरामा धेरै दबाब दिन नहुने पनि चिकित्सक खनालले बताए । ‘अहिले अभिभावकले वालवालिकाका सबै कुराहरु आफ्नै इच्छा र चाहना अनुसार चलाउन खोज्छन् । बालवालिका हरेक कामहरु पर्फेक्ट रुपमा गरुन चाहन्छन् । उनीहरु वालवालिकाका आकांक्षालाई ख्याल गर्दैनन् । त्यसो गर्दा वालवालिकाको मष्तिस्कमा नराम्रो प्रभाव पर्ने गर्छ’ मनोचिकित्सक खनालले भने ।

विद्यालय मनोचिकित्सक मधु खनाल ।
अहिले धेरै युवाहरु लागु औषधमा पर्नुको कारण पनि मानसिक समस्या भएको उनले बताए । घरमा शान्त र सहज वातावरण नपाएपछि वालवालिकाहरु मानसिक तनावमा परेर कुलतमा फस्ने गरेको उनले बताए । बिद्यालयमा प्राथना गर्दा लाइन लागेका बेला, पढाई गरिरहेकै बेला धेरैजसो छात्राहरु बेहोस हुने गरेका घटना स्मरण गर्दै खनालले त्यो सबै मानसिक समस्याकै कारण भएको बताए । उनले बिद्यालयमा सहज वातावरण नहुँदा धेरै वालवालिकाहरु मानसिक रोगी बन्ने गरेको बताए ।
करिब २७ लाख जनसंख्या रहेको सुदूरपश्चिममा अहिलेसम्म कुनै पनि अस्पतालमा एउटा पनि मानसिक रोग बिशेषज्ञ चिकित्सक छैनन् । जसका कारण यहाँ मानसिक रोगको उपचारमा समस्या हुने गरेको छ । धनगढीका स्थानीय दिनेश बिष्टले भने, ‘एक त उसै मानिसहरु यस रोगलाई निको नहुने रोगका रुपमा लिन्छन् । त्यसमाथि चिकित्सक नै नहुँदा यहाँ थप समस्या हुने गरेको छ ।’ सामान्य खाले मानसिक समस्या प्रायः धेरैमा हुने गरेको भएपनि उपचार नपाउँदा झनै समस्या बल्झिने गरेको उनले बताए ।
निर्मला खडायत ।