बाँके । नेपालगन्ज बसपार्क निर्माणको काम गरेका ‘पेटी ठेकेदार’हरु काम गरेवापतको पैसा नपाएपछि जिल्लै परेका छन् । निर्माणको जिम्मा पाएको मुख्य ठेकेदार कम्पनी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि काठमाडौंले ‘पेटी ठेकेदार’लाई काम सकिएपछि पनि रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् ।
समयमा पैसा नपाएपछि १२ जनाले युनाइटेडबिरुद्ध नेपालगन्ज उपमहानगरपालिकामा निवेदन दर्ता गराएका छन् । लामो समयसम्म आफुहरुले दिएको सामानको पैसा माग्दासमेत हुन्छ भन्दै बेवास्ता गरेको भन्दै युनाइटेडबिरुद्ध निवेदन दर्ता गराउनु परेको पेटी ठेक्का लिएका पीडित ब्यवयासीहरुले बताए । एक दर्जन ‘पेटी ठेकेदार’ले नेपालगन्ज उपमहानगरपालिका पुगेर युनाइटेडबिरुद्ध निवेदन दर्ता गराएका छन् ।
कम्पनी मालिकलाई फोन गर्दा कहिले के भन्ने त कहिले हुन्छ भनेर मात्रै टार्नेे गरेको पीडित व्यवसायी जगदीश खनालले बताए । सधैं झुट बोलेर हामीलाई धोका दिएकाले युनाइटेडबिरुद्ध निवेदन दिनुपरेको अर्का पीडित इब्राहिम दर्जीले बताए । उपमहानगरपालिकाले निवेदन परेपछि युनाइटेडका नाममा तयार भएको चेक रोक्का हुने जनाएको छ । पीडित १२ जना ब्यवसायीको निवेदनअनुसार युनाइटेडले ‘पेटी ठेकेदार’हरुलाई करिब रु.८० लाख भुक्तानी गर्नुपर्नेछ ।
सत्यपाटी ।