सूचनाको शक्ति - The Power Of Information

        

‘किसानका खेतमा राप्तीको पानी’

बाँके । राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगन्ज पुगेको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनैबेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै सकिदैन्थ्यो, सपनाजस्तै लाग्थ्यो । तर त्यो सपना पुरा भएको छ । ‘यही जुनीमा आफ्नो खेतमा राप्ती नदीको पानी देख्न पाइयो,’ उमेरले ७० कटेका हरिजनले भने ।

जानकी गाउँपालिका–६ का कैलाश गडरियाले चार वर्षपछि आफ्नो खेतमा गहुँबाली लगाएका छन् । सिँचाइको सूविधा नहुँदा उनको खेतमा गहुँ फलेको थिएन । यसपटक नहरमा सिक्टा नहरबाट राप्ती नदीको पानी आइपुग्यो । नहरमा आएको पानीलाई पप्पसेटबाट तानेर गडरियाले खेतमा सिँचाइ गरिरहेका छन् । ‘मैले गहुँ खेती गर्नै छाडेको थिए । यस पटक गरेको राम्रै भयो । चार वर्षपछि मेरो खेतमा गहुँ फल्ने भयो,’ खुसी हुँदै उनले भने ।

कैलाशकै छिमेकी दिपेन्द्र बर्माले सात बिघा खेतमा लगाएको गहुँमा पर्याप्त पानी पुगेको छ । उनले पनि लामो समयदेखि गहुँ लगाउन छाडेका थिए । ‘धान त जेनतेन लगाइहाल्थ्यौ । तर गहुँलाई मुस्किल पथ्र्यो,’ बर्माले भने, ‘तर अहिले सिक्टाको पानी आएपछि राहत भएको छ ।’ राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानीले खेत सिँचाइ गर्ने हरिजन, गडरिया र बर्माजस्ता धेरै किसानको सपना पुरा भएको छ ।

पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राँझामा पुगेको हो । डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पूरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिए । डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ ।

गत शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पनि पानी सञ्चालन गरिएको छ । आगामी आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ । खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पिसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन् । मङ्सिर १७ गतेदेखि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको पूरै क्षेत्र ४५ दशमलब २५ किलोमिटरमा नियमित पानी सञ्चालन भइरहेको छ ।

सिक्टा सिँचाइ आयोजनाको मूल नहर र शाखा नहरमा पानी सञ्चालन गरेपछि किसानले पम्पसेटबाट नहरको पानीले सिँचाइ गरिरहेका छन् । कोहलपुर–१३ भरैया घरका शिवप्रसाद थारुले चन्नहवा क्षेत्रमा दुई वटा पम्पसेटबाट गहुँमा सिँचाइ गरेको बताए । उनले नौ विगाह क्षेत्रफलमा गहुँ खेती गरेका छन् । यसवर्ष सिक्टाको पानीले पम्पसेटबाट दुई दिनमै सबै खेतमा सिँचाइ गरेको बताए ।

‘पहिले पहिले ८०/९० क्वीन्टल मात्र गहुँ फल्थ्यो । सिँचाइ सुविधा भएपछि यो वर्ष डेढ सय क्वीन्टल गहुँ फल्ने आशा छ,’ उनी भन्छन्, ‘अब नियमित सिँचाइ हुन्छ भने तीन बाली लगाउँछु । सिँचाइको अभावमा खेत बाँझै राख्नुपथ्र्यो । अब त उत्पादन पनि दोब्बर नै हुन्छ ।’ उनले गतवर्ष निकै परबाट १० दिन बोरिङको पानी लगाउँदा पनि सिँचाइ पर्याप्त नभएकोले उत्पादन बढ्न नसकेको बताए ।

हाल पानी सञ्चालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको पानी अहिले जेठी नालाबाट निकास दिइएको छ । सिक्टा सिँचाइ आयोजनाको पश्चिमी र पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । आयोजनाको लागत २५ अर्बको रहेको छ । अहिलेसम्म ६० प्रतिशत मात्र काम सकिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०९:२२