
फाइल तस्वीर
धनगढी । सुदूरपश्चिमका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने गिरोहका नाइके एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । नक्कली नोट छाप्ने गिरोहका नाइके भनिएका महेन्द्रनगरका तेजबहादुर कार्कीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका छन् । सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । उनी भने फरार थिए ।
गत साउनमा कैलाली प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित चार जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१, नैनादेवी टोलबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका छन् ।
कैलालीको चुरे गाउँपालिका–१ का २५ बर्षिय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, २२ बर्षिय भोजबहादुर बम, धनगढी–३ का २४ वर्षीय पल्लभराज भट्ट र बर्दिवास–६ महोत्तरीका २५ बर्षिय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको २२० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो ।
उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली रु.५०० दरको ९८ नोट, रु.५०० दरकै भारतीय ८६ नोट, भारतीय रु.५०० दरको पछाडीको भाग छापिएको चार वटा नोट बरामद गरिएको थियो ।
यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको रु.५०० को आठ नोट, रु.५०० कै तल्लो पछाडीको भाग छापिएको १२ नोटसहित स्टीलको दराजमा राखिएका रु.एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको थियो ।
यस्तै, विभिन्न हिसाबकिताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाइल र रेडियो सञ्चार एफएम गडी बैतडी लेखिएको एक थान स्ट्याम्प पनि बरामद गरिएको थियो ।
पक्राउ परेकाहरुमध्ये अहिले तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने भट्ट धरौटीमा छुटेका छन् । पक्राउ परेका विरुद्ध खोटा मुद्रा उत्पादन र कारोवार अन्तरगत मुद्दा चलाइएको छ ।
यसैबीच, हसियाँ देखाएर ज्यान मार्ने धम्की दिएको अरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । कैलालीको चुरे गाउँपालिका–६ सेलानीका २१ वर्षिय सुवाश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले घरेलु हसियाँ देखाउँदै गाउँमा आतंक सिर्जना गरेका थिए । इलाका प्रहरी कार्याल फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार भण्डारीले गाउँमा हसिया देखाउँदै परिवार तथा छिमेकीलाई ज्यान मार्ने धम्की दिने गरेका थिए ।
निर्मला खडायत ।