सूचनाको शक्ति - The Power Of Information

        

किन हटाइए कोहलपुरबाट डिएसपी शाही ?

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाही दशैंमा ‘खसी’ मागेको विषयले विवादमा थिए । उनको काम गर्ने शैली र शिल्पमाथि कोहलपुर क्षेत्रका एकथरी मानिस खसी विवाद र त्यसको निरन्तरतामा तरुण दलका नेतालाई पक्राउ गरिएको चरणपछि आक्रोशित थिए । यस्तो बेलामा कोहलपुर क्षेत्रमा हुने साधारण घटनाले ठूलो परिणाम ल्याउन सक्छ भन्नेतिर डिएसपी शाही सचेत भएनन् ।

त्यहि कमजोरीका कारण सोमबार शाहीको जिम्मेवारी खोसियो र जिल्ला प्रहरी कार्यालय बाँकेमा तानियो । यसमा प्रहरीभन्दा पनि जिल्ला प्रशासन कार्यालय, सर्वपक्षीय राजनीतिक सहमतिले काम गरेको थियो । यसको अर्थ हो, डिएसपी शाहीको कमजोरी भएको भन्ने विषयमा सबैको एकमतको सहमति देखियो । त्यसो त डिएसपी शाहीलाई कसरी कारबाही गर्न सकिन्छ भन्ने ताकमा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता थिए ।

यसको पृष्ठभूमीको आधार थियो तरुण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना पक्राउ गरी हातहतियार खरखजानामा मुद्दा लगाउनु । यो विषयलाई तरुण दलको केन्द्रीय समितिदेखि नै विरोध हुँदै आएको थियो । यस प्रकरणमा डिएसपी शाहीले नै हतियार राखिदिएको दाबी तरुण दलको थियो । शाहीसँगै प्रहरीले दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पनि पक्राउ गरेको थियो ।

यसैक्रममा आइतबार कोहलपुरमा भएको घटनामा डिएसपी शाहीको नेतृत्वले संयमता अपनाउन नसक्दा, आन्दोलनको भिडमा कांग्रेसले उनीलक्षित नारा लगाउन सक्षम भयो । यतिमात्र होइन, प्रदर्शनका क्रममा प्रहरी लाठीचार्जसहित कारबाहीमा उत्रिनु पनि डिएसपी शाहीको सरुवाको कारण बनिदियो । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दियो ।

आक्रोशित विद्यार्थीले ट्रक जलाएपछि प्रहरी विद्यार्थीमाथि केन्द्रित भएर कारबाहीमा उत्रियो । विद्यालय छिरेर आगो लगाएको आरोपमा विद्यार्थी शिक्षक पक्राउ गरेपछि प्रहरीविरुद्ध आक्रोशको अर्को आगो बल्यो । स्कुले बालबालिकालाई धरपकड नगर्न आग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई कुट्यो । यसै पनि डिएसपी शाहीप्रति गरम रहेको स्थानीय कांग्रेसले आन्दोलन चर्काउन अर्को कारण खोज्नु परेन ।

आन्दोलनमा नियोजित तर आक्रोशको नारा बन्यो, डिएसपी शाही मुर्दावाद । कारबाही गर । यो नारा कोलहपुरमा मात्र सीमित रहेन । नेपाल विद्यार्थी संघले काठमाडौंमा गृहमन्त्रीको राजीनामा नै माग गरे भने सत्तारुढ अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै प्रहरीको कमजोरी भएको ठहर गरेको थियो । मानवीय संवेदनालाई मध्यनजर गर्न नसक्नु, आन्दोलनलाई चतुर्याँईले भन्दा पनि बल प्रयोग गरी मत्थर पार्छु भन्ने ढाडस पाउनु र बालबालिकामाथि रवरका गोली चलाउनु डिएसपी शाहीका कमजोरी भए ।

उनको यहि कमजोरीले अवोध बालिकाको भविष्य नै भवितव्यमा पुगेपछि गृह प्रशासनले जोर लगाएरै उनलाई कोहलपुर इञ्चार्जको जिम्मेवारी खोसिदियो । हतियार प्रकरणमा संगठन प्रमुखलाई कन्भिन्स गर्न सक्षम भएपछि उनको मनोबल अझ बढ्यो । विवेक र विवेचनासहित ध्यान पुर्याएर गर्नुपर्ने कतिपय निर्णयमा शाहीले इञ्चार्ज हुनुको जिम्मेवारी भन्दा पनि हक्की स्वभाव प्रस्तुत गरिदिँदा आम साधारणले उनलाई कारबाहीको माग गरी सडक तताउन पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १८:४१